काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणना-२०७८ को नतिजा सार्वजनिक गरेको छ । विभागका अनुसार नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको छ ।
यसअघि जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ भने विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
जनगणनमा भारतले हस्तक्षेप गरिरहेको दार्चुलाको लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ । यो क्षेत्रको जनसंख्या कति छ भन्नेबारे विस्तृत प्रतिवेदनमा आउने विभागले जनाएको छ ।
यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । २०६८ सालमा जनगणनामा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो ।