काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध विरोध र धर्ना जारी छन् । विभिन्न राजनीतिक पार्टी र विद्यार्थी संगठनहरुले नेपाल आयल निगम घेराउदेखि प्रधानमन्त्री शेरबहहादुर देउवालाई ज्ञापनपत्र समेत दिइसकेका छन् । आन्दोलनकारीले मूल्यवृद्धि फिर्ताको माग गरिरहेका छन् ।
तर, विश्व बजारमै पेट्रोलिय पदार्थको मूल्यवृद्धि रहेको छ । कारोनापछि पनि ओपेक राष्ट्रहरुले तेल उत्पादन कम गरेकोले विश्व बजारमै अभाव हुँदै गएको विज्ञहरुले बताएका छन् । कोरोना संक्रमण कमभएपछि विश्वकै जनजीवन करिब पुरानै लयमा फर्किन लाग्दा पनि ओपेक राष्ट्रहरुले तेल उत्पादन नबढाएका कारण अभाव हुँदै गएको छ ।
नेपालसहित विश्वका ठूला अमेरिका, चीन, भारत, दक्षिणलगायतका देशका नागरिक पनि पेट्रोलिय पदार्थको मूल्यवृद्धिको मारमा परेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य दैनिक उपभोग्य बस्तुको साथै विकास निर्माणमै प्रभाव पार्ने भएकोले ठूला देशहरुले नागरिकलाई राहत दिन आफ्ना भण्डारमा राखिएको तेल निकाल्न थालेका छन् ।
अमेरिकामा पेट्रोलको मूल्य औषत ३.४० अमेरिकी डलर वरिपरी पुगेको छ । यो नेपाली रुपैयाँ ४०४ भन्दापनि बढी हुन आउछ । गत वर्ष यही समयमा २.११ डलर थियो । एक वर्षभित्रै त्यहाँ पेट्रोलको मूल्य ६२ प्रतिशत बढेको हो । त्यहाँ माग हुने करिब ३५ प्रतिशत ऊर्जा माग तरल ऊर्जा खपतबाटै पूर्ति हुने गरेको छ । इन्धनको मूल्य बढेसँगै अमेरिकामा पछिल्लो वर्ष महंगी ६.२ प्रतिशत बढेको छ । महंगीको यो आंकडा पछिल्लो ३० वर्ष यताकै उच्च भएको अधिकारीहरुले बताएका छन् ।
इन्धनको बढ्दो मूल्यलाई कम गर्न र महंगी नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले भूमिगत गुफामा भण्डारण गरेर राखेको ५ करोड ब्यारेल तेल निकाल्ने निर्णय गरिसकेका छन् । तेल निकाल्न सुरु भइसकेको अधिकारीहरुले बताएका छन् । अमेरिकी नागरिकलाई राहत दिने भन्दै बाइडनले यो निर्णय गरेका हुन् । बाइडेनको यो निर्णयको प्रभाव अमेरिकामा मात्र सीमित हुने छैन । अमेरिकाले चीन, जापान, बेलायत, भारत र दक्षिण कोरियाजस्ता ठूला अर्थव्यवस्था भएका मुलुकलाई पनि भण्डार गरिएको इन्धन निकाल्न सहमत गराइसकेको छ । यी मुलुकले पनि सञ्चित गरेको तेल निकालेपछि विश्व बजारमै तेल आपूर्ति बढ्ने निश्चित छ ।
भण्डारबाट अन्य देशहरुले तेज झिके पनि अमेरिकाको भन्दा निकै कम हुने बताइएको छ । अमेरिकाले पाँच करोड तेज झिकेपनि बेलायतले १५ लाख र जापानले ४२ लाख ब्यारेल तेल मात्रै झिक्नेछन् । जे होस् अहिलेको ओपेक प्लस देशहरुको दादागिरी केही समयको लागि भएपनि कम हुनेछ र विश्वका नागरिकहरुलाई केही राहत मिल्नेछ । यसले ओपेक प्लस देशहरुलाई तेलको मूल्य घटाउन बाध्य पार्नेछ । सबैभन्दा धेरे इन्धन खपत गर्ने देशहरुले भण्डारणबाट झिकेपछि उत्पादन भएको विश्व बजारमा कम जाने भएपछि मूल्य घट्ने अनुमान गरिएको छ ।
अमेरिकाले टेक्सास र लुजियाना राज्यको जमिनमुनि बनाइएका चारवटा विशाल भूमिगत तेल गुफामा करिब ६२ देखि ७५ करोड ब्यारेल कच्चा तेल राखेको छ । अमेरिकाले यी गुफामा राखेको तेल पटकपटक प्रयोग गरिसकेको छ । सन् १९९१ मा चलेको खाडी युद्ध र सन् २००५ मा क्याटरिना तुफान चलेका बेला पनि यी गुफामा सञ्चित गरेको तेल अमेरिकाले खपत गरेको थियो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जारी गरेर तेलको बढ्दो मूल्यका कारण उपभोक्ताले ग्यास स्टेशनदेखि घर हुँदै व्यवसायसम्म असर महसुस गरिरहेको बताएको छ । महामारीपछि तेलको माग बढेपनि सोहीअनुसार आपूर्ति भएको नभएको बताउँदै ह्वाइटहाउसले भूमिगत भण्डारणबाट झिक्नु परेको बताएको छ ।
अमेरिकाको यो कदमलाई ओपेक प्लस देशहरुले तेल युद्धको रुपमा हेरेका छन् । सन् २००८ मा कच्चा तेलको प्रतिब्यारेल १५० अमेरिकी डलर पुग्दा पनि भूमिगत तेज ननिकालेको अमेरिकाले अहिले करिब ८० डलर हाराहारीमा भएको बेला यो कमद उठाएको भन्दै संसारको सबैभन्दा धेरै इन्धनको धनी देश रुससहित (ओपेक प्लस) देशहरुले आपत्ति जनाएका छन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          




