काठमाडौं । नेपालमा पछिल्ला दिनमा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८६ हजार ६ सय ३० पुगेको छ ।
आजको संख्या औपचारिक रुपमा सार्वजनिक भएको छैन । योसहित अब नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८७ हजार नाघ्ने भएको छ । मन्त्रालयका अनुसार शनिबार थप ८ सय १७ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।
त्यस्तै शनिबार थप ५ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । शनिबार पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो ।
त्यसैगरी शनिबार थप ८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३ सय ४५ जना पुगेको छ । अहिले १० हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
शनिबार थप ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ९८ हजार पाँच सय ३० जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ८६ लाख पाँच हजार ५५ जना पुगेको छ ।