बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए । त्यसपछि नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री पोखरेलले दिएका थिए । उनले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो पत्ता लगाउने विधि छलफल भएको बताए ।
नेकपा (एमाले) सँग ३९ र जनता समाजवादी पार्टीसँग छ सदस्य रहेको जानकारी दिँदै पोखरेलले जनता समाजवादी पार्टीका विषयमा प्रदेशसभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाए । कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको उल्लेख गर्दै उनले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट पारे ।
आफू अल्पमतमा परे एक छिन पनि सरकारमा नबस्ने घोषणा गरेका मुख्यमन्त्री पोखरेलले आफ्नो सरकार बहुमतमा रहेको दाबी गरे । उनले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम स्थानीय पालिकाले गरेको जानकारी दिँदै राजश्व बाँडफाँडको काम भएको छ तर कम पालिकाबाट ४० प्रतिशत राजश्व प्राप्त गरेको बताए । उनले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारे ।