काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहित चार पार्टीले आज धनगढीमा बृहत जनसभा गर्न लागेका छन् । चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा जनसभा हुन लागेको हो ।
मोर्चामा ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी पनि सहभागी छन् । गत माघ २८ गते काठमाडौँमा रणनीतिक संयुक्त मोर्चाको घोषणा गर्दै नेताहरुले विभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए ।
यसअघि बुटवलमा जनसभा गरेको मोर्चाले आज (फागुन १४ गते) कैलालीको धनगढीमा जनसभा आयोजना गर्ने मोर्चाले निर्णय गरेको थियो । जनसभाको सम्पूर्ण तयारी पूरा भइसकेको नेताहरुले बताएका छन् । जनसभालाई चारै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकार इमान्दारीका साथ आए र सहजरुपमा राजनीतिक गतिविधि गर्ने वातावरण बने आफ्नो पार्टी वार्ताको लागि तयार रहेको नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर बताएका थिए । तर सरकारले भने त्यसबारे अनौपचारिक धारणा बाहेर औपचारिक निर्णय गरेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित जनसभामा विप्लवमाथिको प्रतिबन्ध फिर्ता हुने घोषणा गरेका थिए । तर त्यसबारे थप कुनै प्रतिक्रिया वा निर्णय सरकारले गरेको छैन ।
एक मन्त्रीका अनुसार संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि सरकार अन्य काममा व्यस्त भएकोले विप्लवसँगको वार्ता प्राथमिकतामा नपरेको बताए । उनले सरकारले चाँडै वार्ताको वातावरण बनाउने समेत बताए ।