
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चार पार्टीको आज संयुक्त पत्रकार सम्मेलन आयोजना हुँदैछ ।
नेकपा र क्रान्तिकारी माओवादीसँगै विश्वभक्त दुलाल नेतृत्वका वैज्ञानिक सामाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वका नेकपाले वर्तमान राजनैतिको निकास दिन, क्रान्तिकारी ध्रुविकरण, राष्ट्रियता, जनजीविकाका सवालमा संयुक्त रुपमा संघर्ष गर्ने भन्दै संयुक्त रुपमा रणनैतिक मोर्चा गठन गरेका छन् । सोही मोर्चाले आगामी कार्यक्रम र सांगठानिक संरचनाबारे जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
दिउँसो १२ः३० बजेबाट सुरु हुने पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा आयोजना गरिएको छ । पत्रकार सम्मेमलनमा चारै पार्टीका नेताहरुको सहभागिता रहनेछ ।
चार पार्टीको याे संयुक्त माेर्चाबाट क्रान्तिकारी पंक्ति उत्साहित बनेकाे छ भने आमूल परिवर्तनका पक्षधर जनताले पनि आशाकाे नजरले हेरेका छन् ।
संसद विघटनपछिकाे विकसित राजनीतिक परिस्थितिमा संसदकाे पुनर्स्थापना तथा संसदकाे निर्वाचनबाट मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका समस्याहरुकाे वास्तविक समाधान नहुने भन्दै सम्पुर्ण सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्ति र व्यक्तिहरु संघीय जनगणतन्त्रकाे विकल्पमा अगाडि बढ्नुपर्ने चार कम्युनिस्ट पार्टीको निष्कर्ष रहेकाे छ ।
मोर्चाले देशका विभिन्न स्थानमा जनसभा तथा विरोध प्रदर्शन पनि गर्ने नेताहरुले निर्णय गरेका छन् । सँगै नेकपामाथिको प्रतिबन्ध फुकुवाको लागि पनि संघर्ष गर्ने नेताहरुले बताएका छन् ।
मोर्चामा आवद्ध एक नेताका अनुसार पहिलो चरणमा गर्ने कार्यक्रमबारे पनि चारै पार्टीका शिर्ष नेताहरुबीच सहमति भएको छ । जसमा बुटवलमा फागुन ६ गते, धनगढीमा १४ गते र इटहरीमा २१ गते जनसभा गर्ने संघर्षका कार्यक्रम तय गरेकाे छ ।
यसअघि क्रान्तिकारी माओवादीका नेतााहरुले विप्लवसँग मिलेर संघर्ष गर्ने बताउँदै आएका थिए । केही दिन पहिला एक टिभिजनसँग नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफूहरुले विप्लवसँगै बसेर छलफल गरेको बताएका थिए । नेताहरुका अनुसार विप्लव-वैद्यसहित आहुति र कट्टेलबीच काठमाडौं बाहिर भेटघाट र छलफल भएको थियो ।