आज :

जलस्रोतको बहुआयामिक उपयोगको नीति बनाउन विज्ञहरुको जोड

काठमाडौं । राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो । जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको सो अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा गाडेको बताए । नेपाल आफैले आफ्नो जल सम्पदाको उपयोग गर्न नसक्नु र राजनीतिक स्थिरता नभएका कारण जलस्रोत अन्य मुलुकहरुको नियन्त्रणमा जानसक्ने खतरा पनि विज्ञहरुले औल्याए ।

कार्यक्रममा बोल्दै पूर्व जलस्रोत मन्त्री तथा जलस्रोत विज्ञ दीपक ज्ञवालीले नेपालको पानीको उपयोग सही रुपमा हुन नसकेको बताए । कुनै आधिकारिता विना जलस्रोतमा नेपाललाई विश्वकै दोस्रो देश भन्ने गरिए पनि त्यो सही नभएको उनको भनाई छ । नेपाल ४ महिना बाढीको धनी र ८ महिना खडेरीको धनी भएको बताए । उनले यो कुरा एउटा खुट्टो अँगेनामा झोस्ने र एउट खुट्टो रेफ्रीजेरेटरमा राख्ने अनि औषतमा भन्दा मलाई आरामै छ भनेको जस्तो भएको बताए । यहाँको पानी पनि व्यवस्थित रुपमा उपयोग गर्न नसकिएको उनको भनाइ थियो । साथै उनले एमसीसी र तिब्बती शरणार्थीको सहयोगका लागि ल्याइएको ऐन नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्न ल्याइएको बताए । ज्ञवालीले अमेरिकी परियोजना नेपालको हीतका लागि नभएको तर्क गरे । उनले नेपालीले उत्पादन गरेको बिजुली नेपालभित्रै बाँढ्नका लागि भन्दापनि भारत पुर्याउने उदेश्यका साथ निर्माण गर्न लागिएको बताए । अहिले नेपालमा लोडसेडिङ् हटेको दावी गरेपनि नेपालको उत्पादनको अनुपातमा झन्डै ५० प्रतिशत भारतबाट ल्याएका कारण संभव रहेको उल्लेख गरे । नेपाललाई अरु कुनै देशको गोटी बन्न दिन नहुने पनि उहाँले धारण छ ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व मुख्यसचिव तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले नेपालमा विश्वका ठूला देशहरुले आँखा गाड्नुको प्रमुख कारणमध्ये एक जलस्रोत रहेको बताए । विभिन्न बाहाना र कारण देखाएर नेपालमा पटक पटक विदेशी स्वार्थहरु घुस्ने गरेको भन्दै उनले त्यसका विरुद्धमा अडान लिन खोज्दा कतिपय अवस्थामा व्यक्तिगत सुरक्षाको समेत खतरा उत्पन्न हुने आफूले महशुस गरेको उनले बताए । आफ्नो कार्यकालमा यस्तै स्वार्थहरु छिरेर एउटा ठूलो प्रोजेक्ट डिजाइन गर्न खोजिएको तर आफूले रोकेको पनि उनले स्मरण गरे । उर्जा नहुनु भन्दा महंगो उर्जा हुनु सही हो भन्ने तर्क गर्दै डिजेल प्लान्टको अवधारणा आएको र देशका निम्ति त्यो निकै खतरानाक रहेको उनले बताए । त्यतिबेला ल्याइएको डिजेल प्लान्ट प्रति युनिट २९ रुपैयाँले नेपालीलाई नै बिक्री गर्ने भनिएको तर सबै लागत हेर्दा प्रतियुनिट ४५ रुपैयाँभन्दा बढी पर्ने स्पष्ट देखेपछि आफूले उक्त प्रोजेक्ट डिजाइन गर्नेहरुलाई यस्तो देशघाती काम नगर्न चेतावनी दिएको पौड्यालले स्मरण गरे ।

स्तै उर्जा विकासको नाममा मित्रराष्ट्र अमेरिकालाई नेपालको छिमेकी मित्रराष्ट्र चीनको बिरुद्धमा असर पर्ने गतिविधि गर्न दिन नहुने बताए । उनले नेपालको जलस्रोत नीति बनाउँदा पहिलो प्राथमिकतामा पिउने पानी, दोश्रो प्राथमिकतामा सिंचाई र तेश्रो प्राथमिकतामा मात्र उर्जा विकास राख्नुपर्ने बताए ।

कार्यक्रममा जलस्रोत विशेषज्ञ रतन भण्डारीले जलस्रोतमाथिको बहस केवल विद्युतमा मात्र केन्द्रित हुने गरेको भन्दै यो सही बुझाई नभएको बताए । जलस्रोतको बहुआयामिक उपयोगमा ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । पानीलाई केवल विद्युतको आँखाले हेर्न नहुने उनको तर्क थियो । नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिए पनि नेपालका ग्रामीण भूगोलहरुमा स्वच्छ खानेपानीको समस्या रहेको, सिचाईमा आकाशेपानीको भर पर्नुपरेको र तराईमा जमिन मुनिको पानी उपभोग भइरहेको उनले बताए । अहिले केही मानिसले देशमा लोडसेडिङ अन्त्य भएको बताइरहेको तर यसमा पनि अध्ययनको कमी रहेको भन्दै भण्डारीले नेपालका अधिकांश गाउँहरु विद्युत सेवाबाट वञ्चित रहेको र विद्युत नपुगेका ठाउँको सदाकालिन लोडसेडिङका बारेमा कसैले कुरा नगरेको पनि बताए ।

नेपाल सरकारका जलस्रोत तथा सिंचाई सचिव मधुसुदन अधिकारीले जलस्रोतलाई बहुआयामिक रुपमा उपयोग गरिनुपर्नेमा जोड दिए । अहिले सरकारले एकीकृत जलस्रोत नीति ल्याएको जानकारी गराउँदै उनले कुन कुन क्षेत्रमा कति उपयोगिता र कुन कुन क्षेत्रहरु प्राथमिकतामा हुने भन्ने छुट्याइएको जानकारी दिए । उनले पानीमा अन्तरक्षेत्रीय द्वन्द्व नहोस भन्ने कुरामा नेपालले ध्यान दिनुपर्नेमा जोड दिए । जलस्रोतमा एउटा मात्र देशको नभई अरुको पनि चासो रहने गरेको भन्दै धेरैले अहिले प्राकृतिक स्रोत उपभोगको अधिकार उठाउने गरेको बतए ।

। जलस्रोतका अभियन्ता भरतबहादुर शाहीले नेपालमा जलस्रोत प्रयोगबारे अहिलेसम्म पर्याप्त छलफल हुन नसकेको बताए । देशको मेरुदण्ड हुनसक्ने जलविद्युत आयोजनाको विकास र उपभोगबारे पर्याप्त अध्ययन हुन नसकेको पनि शाहीको धारणा थियो ।
कार्यक्रममा जलस्रोतका अभियन्ता स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपान का उपाध्यक्ष गणेश कार्कीले उद्यमीहरु राज्यसँग सहकार्य गरेर विद्युत विकासमा लाग्न तयार रहेको बताए । कार्कीले नेपालको विकासको मूल आधार नै विद्युत भएकोले जतिसक्दो धेरै उत्पादनमा जोड दिनुपर्ने बच.बताए । अहिले भनिएजस्तो नेपालको विद्युत उत्पादनको क्षमता ८३ हजार नभए पनि ४० हजार भएको उनले उल्लेख गरे । २० हजार मेगावाट विद्युत आन्तरिक खपत गरेर २० हजार बेच्न सके मात्रै पनि राज्य समृद्धिको बाटोमा जाने उहाँको भनाई थियो । चुलो र घरमा बाल्ने विद्युतको हिसाब गरेर राज्य बसेको भन्दै कार्कीले उत्पादनमूलक र औद्योगिक क्षेत्रमा विद्युत खपत नभई समृद्धि नआउने उल्लेख गरे ।

कार्यक्रम आयोजक संस्था फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका तर्फबाट पत्रकार प्रभात चलाउनेले नेपालको प्राकृतिक सम्पदा विश्वका लागि स्वार्थको विषय भएकोले जल तथा उर्जा नेपालको हीतका लागि कसरी प्रयोग भन्नेबारेमा पर्याप्त छलफल हुन आवश्यक रहेको बताए । पत्रकार रमेश हुतुवालीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal