धनगढी । एकै दिन सुदूरपश्चिमका विभिन्न स्थानमा तीन जनाको व्यबारिसे शव फेला परेका छन् । दार्चुला, कञ्चनपुर र डोटीमा एक एक जनाको व्यवारिसे अवस्थामा शव फेला परेका हुन् ।
प्रहरीका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वर बजारतर्फ सडक किनाराको नालीमा एक पुरुषको शव फेला परेको छ । मंगलवार बिहान ८ बजे स्थानीयले प्रहरीलाई खबर गरे पछि ईप्रका गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।
ती पुरुष बैतडीको डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोबिन्द घरेडीको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । आफन्त नआउदासम्म शव उनकै हो भन्न नसकिने प्रहरीले बताएको छ । शवको छेउमा खसेको मोबाइलबाट सम्पर्क गर्दा उनका भतिज महेश घरेडीलाई सम्पर्क भएको छ ।
प्रहरीका अनुसार घटना प्रकृतिले भिररबाट लडेको जस्तो देखिएको भएपनि शरिरमा कुनै पनि घाउ चोट लागेको छैन ।
त्यसैगरी डोटीको दिपायलस्थित सेती पुल नजिक एक वृद्धको शव फेला परेको छ । उनी दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीका अनुसार मजदुरी गरेर पेट पाल्दै आएका साउद मंगलवार बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेका थिए । घर परिवारका सदस्य समेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
हिजो मात्रै कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जंगलमा नेपाली महिलाको शव फेला परेको थियो । प्रहरीका अनुसार भारतीय एसएसबीको टोलीले दिउँसो १ बजे ५५ बर्षको नरुदेवी कठायत नाम लेखेको डायरी र बेवारिसे शव फेला पारेको थियो ।
महिलाको साथमा रहेको डायरीमा पतिको नाम राजेन्द्र सिंह कठायत लेखेको प्रहरीले बताएको छ । उनको शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ । शवलाई भारतीय एसएसबिले पलिया लगेको छ ।
- फोटोः मानसखण्ड