सुर्खेत । डाक्टर गोविन्द केसीले फेरि जुम्लाबाट अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसीले १९ औं अनसन सोमबारबाट जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सुरु गरेका छन् ।
केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध १९ औं सत्याग्रह सुरु गरेको बताए । केसीले यसअघिको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने यसअघिको मागलाई मुख्य रुपमा अगाडि सारेका छन् ।
त्यस्तै प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी,डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग पनि राखेका छन् ।
डाक्टर केसीले सरकार पटकपटक यसअघि सम्झौता गरेका बुँदाहरु पनि कार्यान्वयन नगरेको समेत बताएका छन् । २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने माग पनि केसीले अगाडि सारेका छन् । सरकारले आफूसँग गरेका सम्झौता पूरा नगरेकोले सत्याग्रह बस्नु परेकाे बताएका छन् ।
यसअघि विभिन्न मागहरु राखेर केसीले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए ।