काठमाडौँ । कोरोना भाइरस बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भोलि (बुधबार) देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको बैठक सो निर्णय गरेको हो ।
तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकल बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक सातासम्म निषेधाज्ञा लागु हुनेछ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय संचालन गर्न नपाइने निर्णय पनि भएको छ ।
बैठकमा सहभाथी महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालन हुनेछन् ।
त्यसैगरी निषेधाज्ञा अवधिभर सर्वसाधारणले हिडडुल गर्न समेत नपाएने भएको छ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि आजमात्रै अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा दिएको जनकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २०५ जनामा कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी आज थप ७ जनाको निधन भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।