काठमाडौँ । राजस्व अनुसन्धान विभागले ओम सर्जिकल कन्सर्न प्रा.लि.मा छापा हानेको छ । रामशरण भण्डारी (आरएस) संचालक रहको ओम सर्जिकल स्वस्थ्य सामाग्री खरिदमा बदनाम भएको थियो । ओम सर्जिकलको थापाथलीस्थित कार्यालयमा बुधबार विभागले छापा हानेको हो ।
विभागको टोलीले बुधबार दिउँसो ओम सर्जिकलको लेखा सम्बन्धि सबै कागज जफत गर्नुको साथै सिल गरेको छ । स्वास्थ्य सामाग्री खरिदमा राजस्व छलि गरेको सूचनाको आधारमा छापा हानेको विभागका अधिकारीले बताए । “ओम सर्जिकलले राजस्व छलि गरेको सूचनाको आधारमा छापा हानिएको हो । करसँग सम्बन्धित सबै कागजपत्र पनि जफत गरेका छौं । अब अनुसन्धान हुँदैछ” विभागका एक अधिकारीले अनलाइन डबलीसँग बुधाबार साँझ भने ।
यसअघि अनलाइन डबलीले ओम सर्जिकलले कोरोना संकटको मौका छोपेर स्वास्थ्य सामाग्रीमा कालोबजारी र करछली गरेको सामाचार प्रकाशित गरेको थियो । ओम्नी समूहपछि स्वास्थ्य सेवा विभागले ओम सर्जिकलसँग चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्ने सम्झौता गरेको थियो ।
ओम सर्जिकलका संचालक भण्डारीले विभागसँग भएको सम्झौता देखाउँदै चीनबाट करोडौ मूल्य पर्ने स्वास्थ्य सामाग्री खरिदमा करछलि गरेको अनलाइन डबलीले खुलासा गरेको थियो । त्यसैगरी ओम सर्जिकलले सरकारलाई दिन भनेर चीनबाट करछुटमा ल्याएका स्वास्थ्य सामाग्री महंगो मूल्यमा कालोबजारी गरेको थिए ।
पहिलो पटक गरेको सम्झौताअनुसार सामाग्री दिन नसकेपनि दोस्रो पटक सस्तोमा दररेट हालेको कम्पनीलाई लत्याउँदै विभागले १२ औं नम्बरको ओमसँग नै खरिद सम्झौता गरेको थियो । स्वास्थ्य सेवा विभागले एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम पिसिआर किट) र एक लाख ५० हजार आरएनए एक्स्ट्र्याक्सन किट खरिद गर्न ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का दिएको थियो । जब कि प्रतिस्पर्धामा रहेका अन्य ११ कम्पनीले ओम सर्जिकलभन्दा सस्तोमा किट उपलब्ध गराउने कबुल गरेका थिए ।
सबैभन्दा सस्तो हाम्रो बभालाजी जेभीले १६ करोड ४७ लाख र त्यसपछि फेयर ट्रेड प्रालिले १६ करोड ९९ लाख ५० हजारमा किट उपलब्ध गराउने कबुल गरेपनि विभागले झन्डै साढे आठ करोड महंगो प्रस्ताव गरेको ओम सर्जिकलसँग नै सम्झौता गरेको थियो । दोस्रो पटकको सम्झौता गर्दा पनि कर्मचारीलाई प्रभावमा पार्ने गरी सेटिङ गरेको अनलाइन डबलीले खुलासा गरेको थियो ।
विभागसँग गरेको सम्झौताअनुसार चीनबाट ल्याएको स्वास्थ्य सामाग्री रातारात धनगढी, बुटवल, विराटनगर पहिलो पटकको सम्झौताअनुसार समयमा सामाग्री नदिएर धनगढी, बुटवल, विराटनगर हुँदै भारतसम्म कालोबजारीमा बिक्री गरेको सूचनाका आधारमा अनलाइन डबलीले समाचार प्रकाशित गरेको थियो । त्यो बेला आरएस भण्डारीले अनलाइन डबलीले आफ्नो बदनाम गरेको भन्दै विभिन्न धम्की दिँदै अदालतमा भेटौला भनेका थिए ।
सम्झौता मितिअनुसार सामाग्री विभागलाई दिन नसकेको विषयमा अनलाइन डबलीको प्रश्न गर्दा भण्डारीले काबु बाहिरको परिस्थिति भनेका थिए तर लुम्बिनी हेल्थ केयर प्रा.लि. ले भने सामाग्री समय सीमा भित्रै बुझाएको थियो ।
ओम सर्जिकलले करछलि र कालोबजारी गरेको सूचनाका आधारमा सिआइबी र कर कार्यालयले पनि अनुसन्धान गरेका थिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          




