काठमाडौं । अन्तिम चरणमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिएको छ । बुधबार साँझतिर एसईई स्थगित गर्ने निर्णय गरेको छ ।
परीक्षाको पहाडी जिल्लाहरुमा टाढाटाढबाट विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेपछि मात्रै एसईई स्थगित गर्ने निर्णयबाट असन्तुष्टी जाहेर गरेका छन् । बुधबार दिउँसोसम्म शिक्षा मन्त्रीले परीक्षा स्थगित नहुने बताइरहेका थिए ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको दिउँसो बसेको बैठकले परीक्षा स्थगित नगर्ने बरु परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो तर साँझ फेरि समितिले स्थगित गर्ने निर्णय गर्यो ।
सत्तारुढ (नेकपा)को दिउँसो बसेको सचिवालयको बैठकमा नेताहरुले परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेका थिए । सोही आधारमा उपप्रधानमन्त्री तथा समिति संयोजक पोखरेलले परीक्षा स्थगितको घोषणा गरे ।
परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भोलि निर्णय गर्ने बताइएको छ ।