 
	
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद पनि बेचन । संघीय संसद सचिवालयले विहीबार सूचना जारी गरेर महराको सांसद पद निलम्बन भएको जानकारी दिएको छ ।
सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार सूचना जारी गर्दै महराको सांसद पद निलम्बन भएको जानकारी दिएका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएकवो हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको जनाएका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ मा ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’, भन्ने व्यवस्था छ ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कारको आरोपमा मुछिएपछि महराले राजिनामा दिएका थिए । सुरुमा रोशनीले असोज १२ ग ते राति आफूलाई महराले कोठामै आएर बलात्कार गरेको भन्दै संचारमाध्यममा बोलेको थिइन् । तर केही घण्टाभित्रै बोली फेरिन । पछि उनले महरा बाउ सरहको भएको भन्दै निर्दोष रहेको बताएका थिइन् । तर असोज १७ गते महराविरूद्ध प्रहरीमा बलात्कारको उजुरी दर्ता गराएकी थिइन् ।
शाहीको उजुरी पछि प्रहरी असोज १९ गते आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।आजै सरकारी वकिल कार्यालयमा बयन दिँदै गर्दा महरा एकाएक बिरामी भए । अहिले उनलाई नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          







