काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सबैको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । सुकेटार विमानस्थलबाट सबै शव एकैसाथ काठमाडौंं ल्याउने तयारी भइरहेको हो ।
बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । विहानैबाट शव ल्याउने तयारी भएपनि मौसममा सुधार नआएकोले ल्याउन सकिएको छैन ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी पाइलटसहित सातै जनाको मृत्यु भएको थियो ।
मौसम सफा भएर समयमै शव काठमाडौं पुर्याइएमा अाजै अन्त्यष्टी गरिने बताइएको छ ।
बुधबारै बसेको मन्त्रिपरिषद् बैठकले अाज सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी