दैलेख। आधुनिक संस्कृतिको बढ्दो प्रभावका कारण मौलिक परम्पराहरू संकटमा परिरहेका बेला सुदूरपश्चिम प्रदेशको अछामका युवाहरू भने लोक संस्कृतिको संरक्षण र सामाजिक सेवाको सन्देश बोकेर कर्णाली प्रदेशको दैलेख आइपुगेका छन्।
‘निष्पक्ष र समृद्ध समाजका लागि आदर्श क्लब’ भन्ने मूल नाराका साथ अछामको तुर्माखाँद गाउँपालिका-१, रहफ स्थित ‘डाइन्यामिक युवा क्लब’ मा आबद्ध युवाहरू ‘देउसी भैलो कार्यक्रम-२०८३’ को ब्यानर सहित दैलेखका विभिन्न बजारहरूमा देउसी भैलो प्रस्तुत गरिरहेका छन्।

लोकभाका, लोकनृत्य र मादलको घन्किँदो तालमा युवाहरूले प्रस्तुत गरेको देउसी भैलोले स्थानीय वासीको ध्यान मात्र तानेको छैन, नयाँ पुस्ता पुर्खाहरूको संस्कृति जोगाउन कसरी जागेका छन् भन्ने लोभ लाग्दो दृश्य पनि पस्केको छ।
देउसी भैलो टोली लाई प्रत्यक्ष अवलोकन गर्दै त्रिभुवन उच्च माविका शिक्षक गणेश प्रसाद उपाध्यायले आधुनिक संस्कृतिले नेपाली परम्परा लाई विस्थापित गरिरहेको अवस्थामा युवा टोलीको यो पहल अनुकरणीय रहेको बताउनुभयो। शिक्षक उपाध्यायले अहिले हाम्रो मौलिक संस्कृति माथि आधुनिक संस्कृतिको अतिक्रमण भइरहेको बेला यी युवाहरूले मादल, लोक बाजा र लोक भाकामा प्रस्तुत गरेको देउसी भैलोले हामी नेपाली हौँ भन्ने वास्तविक पहिचान र स्वाभिमान झल्काएको छ, यस्तो प्रयासले नयाँ पुस्ता आफ्ना पुर्खाहरूको संस्कृति जोगाउन साँच्चै अघि सरेको अनुभूति गराउँछ।
देउसी भैलो मार्फत संकलित रकम लाई क्लबले विशुद्ध सामाजिक हितका काममा उपयोग गर्ने जनाएको छ। क्लबका संस्थापक अध्यक्ष रमेश कुमार शाहीका अनुसार देउसी भैलो बाट संकलित रकम क्लबको कोषमा जम्मा गरी समय सापेक्ष खेलकुद प्रतियोगिता, शैक्षिक विकासका विविध कार्यक्रम तथा समाजको आवश्यकता अनुसार जनचेतना मूलक कार्यहरूमा खर्च गरिनेछ। यसका साथै समाजमा लुकेर रहेका कला-संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु क्लबको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
अछाम र दैलेखको भाषा, संस्कृति तथा रहन सहन मिल्दो जुल्दो भएकाले सांस्कृतिक आदान प्रदानका लागि छिमेकी जिल्ला दैलेख रोजिएको क्लबले जनाएको छ। अछाम बाट सुरु भएको यो देउसी भैलो यात्रा दैलेख बजार, चुप्रा बजार हुँदै माथिल्लो र तल्लो डुङ्गेश्वर बजार सम्म पुगेर पुनः अछाम फर्किने तालिका रहेको छ।


नवीन रिजाल



