आज :

महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ : अध्यक्ष लिङ्देन

  • अनलाइन डबली

राप्रपाको नेतृत्वका लागि तयार हुन कार्यकर्तालाई राजेन्द्र लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले राप्रपाको भविष्यप्रति निराश नहुन आग्रह गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित दीपावली, नेपाल संवत्, छठ तथा सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अबको समय राप्रपाको भएको दाबी गरे ।

उनले भने, ‘अबको समय राप्रपाको हो । आउने समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने बेला आएको छ । देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन पनि राप्रपा बलियो हुन जरुरी छ । त्यसैले पार्टीका नेता तथा कार्यकर्ता निराश नभई उच्च मनोबलका साथ अघि बढ्नुपर्छ ।’

उनले राप्रपा कमजोर नभएको उल्लेख गर्दै देशलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन पनि पार्टी बलियो हुन आवश्यक रहेको बताए । आगामी समयको नेतृत्व गर्न राप्रपा तयार हुनुपर्ने उनको भनाइ थियो ।

लिङ्देनले पछिल्लो राजनीतिक परिस्थितिमा लोकतन्त्रको नाममा सर्वसत्तावाद स्थापित हुने खतरा देखिएको टिप्पणी गरे । विधि, नियम र कानुनी प्रक्रियाभन्दा आदेश र शक्तिका आधारमा मुलुक सञ्चालन हुने प्रवृत्तिले देशलाई गम्भीर सङ्कटतर्फ लैजान सक्ने उनले बताए ।

उनले प्रहरी महानिरीक्षकको परिवर्तन, सरकारी अधिकारीहरूको पक्राउ तथा रिहाइ र सुनकोशी–मरिन डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विषय उठाउँदै सरकारका कामकारबाही पारदर्शी हुनुपर्ने बताए ।

पक्राउ गरिएका अधिकारीलाई पुनः जिम्मेवारीमा फर्काइनुको कारण र ठेक्का प्रक्रिया रोकिँदा राज्यलाई भएको लाभ वा हानिबारे नागरिकले जानकारी पाउनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘देशमा जनमत र लोकतन्त्रको आडमा सर्वसत्तावाद स्थापित हुने खतरा देखिन थालेको छ । विधि र नियमभन्दा आदेश र लहरका आधारमा मुलुक चल्ने अवस्था सिर्जना भइरहेको छ । प्रहरी महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउ र पुनः जिम्मेवारीमा फर्काउनेसम्मका घटनाबारे सरकारले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १६ अर्बको ठेक्का प्रक्रिया किन रोकियो र त्यसबाट राज्यलाई के फाइदा भयो भन्ने कुरा पनि सार्वजनिक हुनुपर्छ ।’

लिङ्देनले नेपालको राजनीति नेता, कर्मचारी, व्यापारी र न्यायालयसँग जोडिएका बिचौलियाको प्रभावमा परेको आफ्नो पुरानो विश्लेषण सही साबित हुँदै गएको दाबी गरे । वर्तमान सरकारले पनि विगतकै प्रवृत्तिलाई निरन्तरता दिएको देखिन थालेको उनको टिप्पणी थियो ।

उनले राप्रपाभित्र पनि व्यक्तिगत र व्यावसायिक स्वार्थका आधारमा पार्टी प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । आगामी महाधिवेशनबाट सुधारिएको, परिवर्तित र सङ्गठित राप्रपा निर्माण गरेर जनतामाझ जानुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal