आज :

जेनजी आन्दोलनको १४ महिनाः सरकारी र निजी सम्पत्ति जलाउनेहरु छुट्दै, जलेका संरचनाहरु जस्ताको त्यस्तै !

  • अनुसा थापा

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतसहित अन्य अदालत, प्रहरी कार्यालय, भैंसेपाटीस्थित मुख्यमन्त्रीहरुको निवासलगायत सरकारी संरचना जलेको १४ महिना बित्यो । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा ती संरचना खरानी बनाइएको थियो ।

तर, आजको दिनसम्म पुनःनिर्माणको कुनै सुरसार छैन । जेनजी प्रदर्शनको नाममा जलाइएका संरचना राष्ट्रका धरोहर थिए । विडम्बना ! राष्ट्रिय झण्डा ओढेर राष्ट्रको सम्पत्ति जलाइयो । अझै उनीहरु नै आफूलाई देशप्रेमी, देश बनाउने टोली भन्दै हिँडेका छन् । योभन्दा हाँस्यास्पद कुरा के नै होला र ?

पुरातत्व विभागले सरकारलाई पेश गरेको कोटेशनअनुसार सिंहदरबारलाई पुरानै रुपमा फर्काउने एक अर्ब ५० करोड रुपैयाँ लाग्छ । निर्माण गर्दै जाँदा त्यसको दोब्बर लाग्छ । किन कि, यो नेपालको पुरानै रोग हो । पहिले एउटा कोटेशन पेश गरिन्छ, स्वीकृत हुन्छ, निर्माण सम्पन्न हुँदा कोटेशनको तेब्बर खर्च भइसक्छ ।

अर्को गम्भीर प्रश्न के भने, एउटा सिंहदरबार पुनःनिर्माण गर्न यत्रो खर्च लाग्छ भने सबै बनाउन कति खर्च लाग्ला ? राष्ट्रको ढुकुटीले थेग्न सक्छ ? साढे चार सय त पालिकाको भवन जलेको छ । निर्माण भएको केही वर्ष नबित्दै मुख्यमन्त्री निवास खरानी बनाइयो । केही प्रहरी चौकी स्थानीयको सहयोगमा बनेको छ भने केही जलेकै अवस्थामा छ ।

भवन जल्दा दैनिक सेवा प्रवाहमा समस्या भएको छ । भवन मात्रै होइन, हजारौं गाडी खरानी बनाइएको छ । आपतकालीन अवस्थामा चाहिने दमकलदेखि प्रहरी गाडी, सरकारी गाडी जम्मै जलाइएको छ । ती गाडी खरिद गर्न फेरि पैसा जुटाउनुपर्नेछ । पुनःनिर्माणदेखि गाडी खरिदको बोझ फेरि जनतामाथि नै आउने भएको छ ।

जतिपनि सरकारी संरचना र गाडी छन्, ती सब जनताले तिरेको करबाट बनेको र खरिद गरिएको हो । जनताले खुट्टामा चप्पल नलगाईकन, आधा पेट खाएर, उपचारबाट वञ्चित भएर राज्यलाई कर तिरे । तर, जनताले नै ती संरचनामा आगो झोसे । आन्दोलनका नाममा बल्लतल्ल ठड्याइएको संरचना ध्वस्त बनाइयो ।

सरकारीतर्फ ८४ अर्ब ७७ करोड ४५ लाखको सम्पत्ति खरानी बनेको छ । यी संरचना बनाउन दोब्बर खर्च लाग्छ । निजीतर्फ २७ खर्ब रुपैयाँ क्षति भएको छ । ७७ जनाको ज्यान जाँदा हजारौं घाइते भए । शहिद घोषित भएकादेखि घाइतेसम्मलाई राज्यको ढुकुटीबाट पैसा दिनुपरेको छ ।

एकातिर यत्रो सरकारी संरचना पुरानै अवस्थामा फर्काउनुपर्ने चुनौती छ, अर्कोतिर आन्दोलनका घाइतेसम्मलाई राज्यकोषबाट पाल्नुपरेको छ । जताबाट पनि आखिर जनता नै चपेटामा पर्ने हुन् । जेनजी प्रदर्शनपछि देश डामाडोल छ । आम नागरिक निराश छन् । निजी क्षेत्र त्रसित छन् ।

यस्तोमा बालेन्द्र साह नेतृत्वको सरकारले सरकारी र निजी सम्पत्ति जलाउनेलाई छोड्ने तयारी गर्दैछ । महान्यायाधिवक्ताको कार्यालयसँग रायसमेत माग भइसकेको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले सरकारी र निजी सम्पत्ति जलाउने, आन्दोलनका नाममा हिंसा फैलाउने १७ सय जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई सुशासनको नारा दिएर बनेको सरकारले छोड्दैछ । त्यसो त, अरुलाई पनि किन जेलमा राख्नु ? छोडे भइहाल्यो नि ।

आन्दोलनका नाममा सरकारी र निजी सम्पत्ति जलाउन पाइन्छ ? समाजमा अराजकता फैलाउन मिल्छ ? आफ्नो स्वार्थ पूर्तिका लागि केही व्यक्ति आन्दोलन भन्दै देशको संरचना जलाउँदै जाने अनि जनताचाँहि पुनःनिर्माणका लागि सँधै कर तिरिरहने ?

अब जनताले कर तिर्नुहुन्न । किन तिर्ने कर ? सरकारी सम्पत्ति जलाउने छुटिहाल्छन् । उनीहरुले फेरि आन्दोलन भन्दै अर्कोपटक पनि सरकारी सम्पत्ति जलाउँछन् । त्यो पुनःनिर्माण गर्न फेरि जनताकै ढाड सेकिन्छ । त्यति मात्र होइन, अब यहाँ कसले लगानी गर्छ ? सरकारी र निजी सम्पत्ति जलाउनेहरु छुटेपछि कसैमा लगानी गर्ने आँट आउँछ ?

विदेशी लगानीकर्ताले नेपाललाई पत्याउँछन् ? देश अप्ठेरो घडीमा भएको अवस्थामा सरकारले जनतादेखि निजी क्षेत्र र विदेशी लगानीकर्तालाई विश्वासमा लिन सक्नुपर्थ्यो । तर, सरकार देश जलाउनेलाई छोड्नतर्फ लाग्यो । सरकारको यो कार्यले समाजमा थप अराजकता, अशान्ति बढ्ने निश्चित छ ।

नेपालको संविधानले आन्दोलन गर्ने अधिकार दिएको छ । तर, आन्दोलन शान्तिपूर्ण हुनुपर्छ । आन्दोलनमा कसैको सम्पत्तिमा क्षति पुर्याउन पाइँदैन । जिल्ला प्रशासन कार्यालयसँग शान्तिपूर्ण आन्दोलनको अनुमति लिएर हिंसात्मक र ध्वंशात्मक प्रदर्शन गरिएको छ । आन्दोलनको अनुमति माग्नेदेखि जलाउनेसम्मलाई कारबाही गरिनुपर्नेमा यहाँ उल्टो हुँदैछ ।

चुनावको मुखमा सबैलाई जोगाइँदैछ । यसले नै सरकारको उद्देश्य के हो ? भन्ने प्रष्ट हुन्छ । यद्यपि, सरकारको यो कदमले देशले भने धेरै भोग्नुपर्ने हुनसक्छ । किन कि, विदेशीमा नेपाल असुरक्षित देश हो भन्ने छाप परिसकेको छ । जेनजी प्रदर्शनताका हायात होटलमा आगजनी हुँदा एक भारतीय महिलाले ज्यान गुमाइन् ।

उनका श्रीमान्ले झ्यालबाट हाम्फालेर ज्यान जोगाए । उनले क्षतिपूर्ति माग गर्दै दायर गरेको मुद्दा भारतीय अदालतमा विचाराधीन छ । आन्दोलनमा नोक्सानी खेपेका नेपाली निजी क्षेत्र र सरकारतर्फबाट पनि प्रहरीमा जाहेरी परेको छ । ती जाहेरीका आधारमा पक्राउ गरिएकालाई सरकारले छोड्दैछ ।

नेपालीले आफ्नो घरमा आफैंले आगो झोसेका छन् । राष्ट्रिय झण्डा ओढेर र नेपाली नागरिकता बोकेर सरकारी सम्पत्ति सकाइयो । आफ्नै सम्पत्तिमा आगो झोस्दा उनीहरु रमाए । ‘देखिस् केपी तेरो सिंहदरबार’ सम्म भन्न भ्याए । तर, त्यो सिंहदरबार सिर्फ केपी शर्मा ओलीको थिएन ।

त्यो सब नेपाली जनताको थियो । सिंहदरबार देख्दा नेपालीलाई गौरव महसुश हुन्थ्यो । अहिले जलेको सिंहदरबार देख्दा मन खिन्न हुन्छ । नेपालीले गौरव गर्ने एउटा संरचना पनि छोडिएन । तर, सिंहदरबार जलाउनेहरु भने छुट्दैछन् । हुन त अहिलेको सरकारका प्रमुखले सिंहदरबार जलाउनै चाहेका थिए ।

नत्र श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने स्ट्याट्स आउँथेन होला । प्रधानमन्त्री बालेन्द्र साहले त्यो स्ट्याट्स लेखेका थिए, उनैले समर्थन गरेको जेनजी आन्दोलनले सिंहदरबार खरानी बनायो । त्यही आन्दोलनका कारण उनी सरकारमा पुगे ।
रास्वपा सभापति रवि लामिछाने जेलबाट निस्किए । यहाँ जो सरकारमा गयो, यसले आफ्नो हितअनुकूल राज्य संयन्त्र र कानुनलाई चलाउँछ । आफ्नो मान्छेलाई जोगाइन्छ । नत्र सरकारी र निजी सम्पत्ति जलाउनेहरुलाई छोड्न राय मागिदाँ सडकबाट बाटो काट्नेलाई समातिँदैन थियो होला ।

आकाशे पुल प्रयोग नगरिकन सडकबाट बाटो काट्दा भएको वादविवादका क्रममा नागरिक समातिदाँ प्रहरीलाई कुटिकुटि मार्ने, सरकारी र निजी सम्पत्तिमा आगो झोस्नेहरुलाई रिहा गर्न खोजिँदैछ । यही हो सुशासन ? कानुनी राज्य भनेको यही हो ? आफ्ना मान्छेलाई जसरी पनि जोगाउने, आम नागरिकलाई बाटो काटेकै भरमा लगेर कोच्ने ?

यस्तो द्धैध चरित्र भएको सरकारले नागरिकलाई न्याय दिन्छ भनेर कल्पना गर्नु बेवकुफी हुनेछ । आरोप लगाएकै भरमा कति जेलमा छन् । खान नपाएर केही चोरेकै भरमा जेलजीवन काटिरहेका छन् । नेपालको कानुन नबुझ्दा विदेशीहरु जेल पुगेका छन् । ऋण तिर्न सकेर धेरै जेल पुगेका छन् ।

अब सरकारले सबलाई छोडिदिए हुन्छ । आफ्नोलाई जोगाउने काम सरकारले नगरोस् । कानुन सबैलाई बराबर हो, यो कुरा सरकारले बुझोस् । सिंहदरबार जलाउने त जेल बस्न नपर्ने भएपछि प्रहरी, अदालत र कारागार केलाई चाहियो ? महान्यायाधिवक्ता कार्यालयबाट राय लिनु, धमाधम छोडिदिनु ।

–अनुसा थापा, भक्तपुर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal