काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ ।
यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ ।
संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार तीन दिनमात्र होइन, नियमित संचालनका लागि माग राखेका छौं । ‘नेपालस्थित चिनिया दूताबासलाई ध्यानाकर्षण पत्र नै बुझाएर संचालनको माग राखेका छौं,’ उनले भने ।
नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर नेपाल र चीन दुवैतर्फ रोकिएको उनले जानकारी दिए ।
हालैका गम्भीर मौसमी घटनाहरूका कारण स्थलमार्गहरूमा अवरोध तथा क्षति पुगेको अवस्थामा तातोपानी नाका सीमापार आवागमनका लागि सबैभन्दा व्यवहारिक र प्रभावकारी मार्गका रूपमा रहेकाले दशैँ र तिहारलगायतका प्रमुख चाडपर्वको मौसम चलिरहेको यस समयमा चाडपर्व लक्षित सामान बोकेका सयौँ कन्टेनरहरू सीमामा रोकिएको, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन्। यसले साना स्थानीय व्यापारीहरूलाई गम्भीर आर्थिक क्षति पुर्याउनुका साथै नेपाली उपभोक्ताहरूका लागि बजारमा वस्तुको ठूलो अभाव सिर्जना गर्ने अवस्था उत्पन्न गराएकाले नाका सुचारु गराउन माग गरिएको पराजुलीले जानकारी दिए ।
नेपाली पक्षका सम्बन्धित सडक निकायहरू तथा स्थानीय सरोकारवालाहरूले सडकमा रहेका अवरोधहरू हटाई सुरक्षित आवागमन पुनःस्थापना गरिसकेको जानकारी दिंदै उनले भन्सार जाँचपास तथा सवारीसाधनको आवागमनका लागि सडक पूर्ण रूपमा सञ्चालनयोग्य भएको पनि बताए ।
चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो।


अनलाइन डबली

