आज :

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दाबी गरेका छन् । दोस्रो कार्यकाल सुरु गरेयता आफूले आठवटा युद्ध तथा द्वन्द्व समाधान गरेको दाबी गर्दै ट्रम्पले पुरस्कारका लागि आफू योग्य रहेको बताएका हुन् ।

बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कार घोषणा हुने समय नजिकिएको उल्लेख गर्दै आफूले विगतका अमेरिकी राष्ट्रपतिभन्दा शान्ति स्थापनाका लागि बढी काम गरेको दाबी गरे ।

‘मैले यस्तो काम गरेको छु, जुन अरू कसैले कहिल्यै गरेका छैनन् । मैले आठवटा युद्ध समाधान गरेको छु,’ ट्रम्पले भने । उनले आफूले पुरस्कार नपाउन सक्ने सम्भावनासमेत स्वीकार गरे । नर्वेजियन नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने गरेको भन्दै ट्रम्पले समितिको निर्णयप्रति आशंका व्यक्त गरे । तर पुरस्कार पाए पनि नपाए पनि आफूले गरेका कामको महत्व कायम रहने उनको भनाइ थियो ।

ट्रम्पले आफूले आठवटा युद्ध समाधान गरेको दाबी गरे पनि ती सबै द्वन्द्वमा स्थायी शान्ति कायम भएको विषयमा प्रश्न उठेका छन् । प्रजातान्त्रिक गणतन्त्र कंगो तथा कम्बोडिया–थाइल्यान्ड सीमालगायत क्षेत्रमा पुनः द्वन्द्व वा तनाव देखिएको छ ।

युक्रेनमा जारी युद्ध अन्त्यका लागि पनि ट्रम्प प्रशासनले पटक–पटक कूटनीतिक समाधानको दाबी गर्दै आएको छ । तर अहिलेसम्म दीर्घकालीन शान्ति सम्झौता हुन सकेको छैन । मध्यपूर्वमा पनि इरानसँग सम्बन्धित तनाव र अन्य सैन्य गतिविधि जारी रहेकाले ट्रम्प प्रशासनको ‘द्वन्द्व समाधान’ दाबीमाथि बहस भइरहेको छ ।

ओबामालाई पुरस्कार दिएकोमा ट्रम्पको आलोचना

ट्रम्पले सन् २००९ मा नोबेल शान्ति पुरस्कार पाएका पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि आलोचना गरे । ओबामाले कुनै उल्लेखनीय काम नगरेको र आफूले पुरस्कार किन पाएको भन्ने कुरा समेत नबुझेको ट्रम्पको दाबी थियो । ‘ओबामाले पाए, तर उनले केही गरेनन्,’ ट्रम्पले भने ।

ट्रम्पले गत वर्षकी नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोसँग जोडिएको प्रसंगसमेत उठाए । ट्रम्पका अनुसार ओभल अफिसमा भएको भेटका क्रममा माचाडोले आफूले पाएको नोबेल पदक आफूलाई दिएकी थिइन् । उनले आफूभन्दा ट्रम्प नै पुरस्कारका लागि योग्य रहेको बताएको ट्रम्पको दाबी छ ।

सन् २०२६ को नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा हुँदैछ । पुरस्कार छनोट गर्ने जिम्मेवारी नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिको हो । यस वर्षको पुरस्कारका सम्भावित दाबेदारका रूपमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत तथा प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकलगायतका नामसमेत चर्चामा रहेको सामग्रीमा उल्लेख छ ।

ट्रम्प प्रशासनका अधिकारीहरूले भने राष्ट्रहरूमाथि लगाइएको व्यापारिक दबाब, सम्भावित शुल्क तथा आर्थिक दबाबले विभिन्न पक्षलाई कूटनीतिक वार्तातर्फ ल्याउन भूमिका खेलेको दाबी गर्दै आएका छन् । यद्यपि, ट्रम्पले समाधान गरेको भनिएका सबै द्वन्द्वमा स्थायी शान्ति कायम भइसकेको अवस्था छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal