हेमन्त केसी-
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको ६३ दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री शाहीको परिवारका नाममा मुगुमा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सवारीसाधन तथा अन्य सम्पत्ति रहेको देखिएको छ । विवरणमा अधिकांश जग्गाजमिन र केही घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ ।
आमाको नाममा २२ भन्दा बढी कित्ता जग्गा
मुख्यमन्त्री शाहीकी आमा ऐशा शाहीको नाममा मुगुको सोरु गाउँपालिका–६ मा २ हजार ९४३.५० वर्गमिटर क्षेत्रफलमा फैलिएको घर रहेको छ ।
उक्त घरको स्रोत पैतृक सम्पत्ति उल्लेख गरिएको छ । त्यस्तै, उनकी छोरी उस्मिता शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ५६.२५ वर्गमिटर क्षेत्रफलको घर रहेको छ । उक्त घर बकसपत्रबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।
मुख्यमन्त्री शाहीको नाममा साविक जिमा गाविस–९ मा ४०२ वर्गमिटर जग्गा रहेको छ भने उनकी श्रीमती नारायणदेवी शाहीको नाममा साविक श्रीनगर गाविस–४ मा ४२४ वर्गमिटर जग्गा छ । उक्त जग्गा २० लाख रुपैयाँमा खरिद गरिएको र त्यसको स्रोत व्यवसायबाट प्राप्त आम्दानी रहेको जनाइएको छ ।
त्यसैगरी, उनकी आमाको नाममा साविक जिमाका विभिन्न वडामा २२ भन्दा बढी कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । ती सबै जग्गाको स्रोत पैतृक सम्पत्ति जनाइएको छ ।
१० तोला सुन र १० तोला चाँदी
मुख्यमन्त्री शाहीले आफ्नो नाममा १० तोला सुन र १० तोला चाँदी रहेको विवरण सार्वजनिक गरेका छन्। सुनमध्ये चार तोला पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन्। दुई तोला सुन २०५३ सालमा शिक्षकको तलबबाट ५० हजार रुपैयाँमा खरिद गरेको विवरणमा जनाइएको छ।
त्यस्तै, २०७५ सालमा व्यवसायबाट प्राप्त आम्दानीले ४० हजार रुपैयाँमा एक तोला, २०८० सालमा पारिश्रमिकबाट ९० हजार रुपैयाँमा एक तोला र २०८१ सालमा पारिश्रमिकबाटै दुई लाख ४० हजार रुपैयाँमा थप दुई तोला सुन खरिद गरेको उल्लेख छ ।
उनको बैंक खातामा दुई लाख रुपैयाँ मौज्दात रहेको र त्यसको स्रोत सरकारी सुविधा रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री शाहीको नाममा कुनै पनि कम्पनीको सेयर, ऋणपत्र वा अन्य धितोपत्र भने नरहेको जनाइएको छ।
१८ लाख ऋण, छोरीको नाममा स्कूटर
मुख्यमन्त्री शाहीले कृषि विकास बैंकको मुगु शाखाबाट २०७९ असार २८ गते १८ लाख रुपैयाँ ऋण लिएको र हालसम्म केही रकम भुक्तानी गरिसकेको विवरणमा उल्लेख गरेका छन्।
सवारीसाधनतर्फ उनकी छोरी उस्मिता शाहीको नाममा २०७५ सालमा दुई लाख ३५ हजार रुपैयाँमा खरिद गरिएको सुजुकी स्कुटर रहेको छ। उनको परिवारको नाममा चारपाङ्ग्रे निजी सवारीसाधन भने नरहेको विवरणमा जनाइएको छ।
पशुधनतर्फ मुख्यमन्त्री शाहीसँग सातवटा गाईगोरु रहेका छन्। त्यस्तै, ९० हजार रुपैयाँ मूल्यको सामसुङ र ६० हजार रुपैयाँ मूल्यको भिभो मोबाइल फोन, एक लाख १० हजार रुपैयाँको क्यामरा र ९० हजार रुपैयाँको ल्यापटप रहेको सम्पत्ति विवरणमा उल्लेख छ।


अनलाइन डबली

