काठमाडौं । यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सन्दर्भमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग आज उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।
गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, आम सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने संयन्त्र तथा सम्भावित जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल), नेपाल पर्यटन बोर्ड एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उच्च प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए ।
सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेका क्षेत्रहरूमा पूर्ण सतर्कता अपनाउन र खोज, उद्धार तथा राहतका लागि आवश्यक पूर्वतयारीमा रहन सबै सरोकारवाला निकायलाई आग्रह गरे ।


अनलाइन डबली

