काठमाडौं । अग्रगामी मोर्चाको स्वास्थ्य उपचार तथा सहजिकरण समितिले मंगलबार नुवाकोटको सदरमुकाम विदुरमा बाढी पीडितका लागि एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । सो शिविर नुवाकोटको तल्लो पीपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सशस्त्र प्रहरी बल र बाग्मती सरकारसँग संयुक्तरुपमा शिविर सञ्चालन गरेको प्रलोपा केन्द्रीय सदस्य डम्बर रावलले बताए ।
एक दिने स्वास्थ्य शिविरका प्रमुख रावलले बाढी पीडितहरूलाई सामान्य स्वास्थ्य परिक्षणका साथै राहतस्वरूप औषधिजन्य सामग्रीहरू वितरण गरेको जनाएका छन् । रावलको नेतृत्वमा डा.उमेशसहितको टोलीले बाढीबाट प्रभावित भएका स्थानीय बासिन्दाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सो शिविर सञ्चालन गरेको जनाए ।
उनका अनुसार मोर्चा र प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)ले विदुरमा रहेको होल्डिङ सेन्टर, जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा ती स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
विपदको समयमा पीडितहरूलाई स्वास्थ्य समस्या नहोस् भन्ने उद्देश्यले स्थानीय नेता तथा कार्यकर्ताहरूको रोहबरमा ती सामग्रीहरू वितरण गरिएको प्रलोपाले जनाएको छ । बाढीका कारण विस्थापित र प्रभावित भएकाहरूलाई औषधि तथा उपचारमा कमि हुन नदिन मोर्चाले यो पहलकदमी लिएको स्थानीय नेताहरूले बताएका छन् ।
भदौ १० गतेको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा भौतिक क्षति पु¥याउनुका साथै जनजीवन प्रभावित बनाएको थियो । राहत वितरण कार्यक्रममा पार्टीका प्रतिनिधिहरूले आगामी दिनमा पनि आवश्यकता अनुसार थप सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिहरुले मानसिक स्वास्थ्य परामर्श तथा बाढीजन्य रोगबाट उत्पन्न हुने समस्याहरुलाई मध्यनजर गर्दै आगामी स्वास्थ्य शिविरहरु आवश्यकता अनुसार सञ्चालन गरिने पनि जनाएका छन् ।
साथै शिविर प्रमुख रावलले स्थानीय, प्रदेश तथा संघीय सरकारले समन्वय तथा सहजिकरण गरे रसुवालगायत प्रभावित क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्न तयार रहेको पनि जानकारी दिए ।
विपद्बाट प्रभावित परिवार तथा नागरिकलाई राहत पु¥याउन सरकारसँग ऐक्यबद्धता जनाउँदै जनताको पीडामा मल्ह्म पट्टी लगाउन हरदम तयार रहेको रावलले बताए ।


अनलाइन डबली



