बाढीपीडित रसुवामा खानेपानी व्यवस्थापनमा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघको पहल
काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली तथा महासंघका सल्लाहकारद्वय चोकप्रसाद धिताल र शंकर गौतम सामाजिक सेवामा निरन्तर सक्रिय उदाहरणीय व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्। उपभोक्ता संस्थाको नेतृत्वदेखि राष्ट्रिय तहको महासंघको जिम्मेवारीसम्म रहेर उनीहरूले खानेपानी उपभोक्ताका हक, अधिकार र हितका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
हालै आएको बाढीपहिरोका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि अध्यक्ष खेमराज ओली तथा सल्लाहकारद्वय धिताल र गौतमले व्यक्तिगत खर्चबाट करिब ७५ हजार रुपैयाँ बराबरका हिलट्यांकी उपलब्ध गराएका छन्। बाढीबाट बढी प्रभावित क्षेत्रमा ती ट्यांकी ६ स्थानमा राखी सामूहिक रूपमा खानेपानी पिउने व्यवस्था मिलाइएको छ।
खानेपानी व्यवस्थापन तथा वितरणमा विद्धुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठको नेतृत्वमा रहेको टोली तथा संस्थाका कर्मचारीहरूको भूमिका पनि महत्वपूर्ण रहेको महासंघले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई खानेपानी उपलब्ध गराउन सहयोग गर्ने सम्पूर्ण टोलीप्रति महासंघले धन्यवाद व्यक्त गरेको छ।
यसैबीच, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले आफ्नो कार्यसमितिका सल्लाहकार तथा देशभर रहेका सदस्य खानेपानी उपभोक्ता संस्थाहरूलाई रसुवाका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेका थिए। महासंघको अनुरोधपछि विभिन्न खानेपानी उपभोक्ता संस्थाहरूले सहयोगका लागि तत्परता देखाएका छन्।
सहयोगका लागि अघि सरेका संस्थाहरूमा:
* लेखनाथ खानेपानी उपभोक्ता संस्था
* टीकापुर खानेपानी उपभोक्ता संस्था
* खलंगा–शीतलपाटी खानेपानी उपभोक्ता संस्था
* कावासोती खानेपानी उपभोक्ता संस्था
* प्रगतिनगर खानेपानी उपभोक्ता संस्था, दाङ
* सिरिचौर खानेपानी उपभोक्ता संस्था
* बेनी खानेपानी उपभोक्ता संस्था
* मुसिकोट–खलंगा खानेपानी उपभोक्ता संस्था
* अँधेरीखोला खानेपानी उपभोक्ता संस्था
लगायत देशभरका अन्य खानेपानी उपभोक्ता संस्थाहरू पनि सहयोग अभियानमा जोडिने अपेक्षा गरिएको छ। महासंघका अनुसार विभिन्न संस्थाबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्मको सहयोग खानेपानी तथा राहतका क्षेत्रमा परिचालन हुने अपेक्षा गरिएको छ।
महासंघले देशभरका खानेपानी उपभोक्ता संस्थाहरूलाई आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गर्न वा आवश्यकता अनुसार जिन्सी सामग्री उपलब्ध गराउन अनुरोध गरेको छ। साथै, संस्थाहरूले सहयोग गरेको रकम वा सामग्रीको विवरण तथा रसिद महासंघमा उपलब्ध गराउन आग्रह गरिएको छ।
देशभरका संस्थाहरूबाट प्राप्त सहयोगको विवरण संकलन भएपछि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले समाचार तथा सार्वजनिक सञ्चारमाध्यममार्फत सहयोगको विवरण सार्वजनिक गर्ने जनाएको छ।
महासंघले विपद्को यस्तो दुःखद् घडीमा सामाजिक सञ्जालमा सहानुभूति मात्र व्यक्त गर्नु पर्याप्त नहुने भन्दै सामाजिक तथा आर्थिक दायित्व बोकेका जिम्मेवार व्यक्तिहरू र संस्थाहरूले व्यवहारमै सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
“विपद्का बेला सामाजिक अभियानता र जिम्मेवार नागरिकको भूमिका व्यवहारमै देखिनुपर्छ। देश पीडा र दुःखमा डुबेको अवस्थामा सहयोग गर्नु हामी सबैको साझा दायित्व हो।”
रसुवाका बाढीपीडित नागरिकलाई खानेपानी उपलब्ध गराउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण खानेपानी उपभोक्ता संस्था, अध्यक्ष, पदाधिकारी, कर्मचारी तथा सहयोगीहरूलाई राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


अनलाइन डबली




