कालीगण्डकी नदीको कटानका कारण पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको मोटोरेबल पुल जोखिममा परेको छ। नदीमा बाढीको बहाव बढेसँगै भएको कटानले पुलको तल्लो भाग र संरचनामा क्षति पुर्याएको हो।
विशेषगरी पुलको पर्वतर्फको पिलर छेउमा रहेका पर्खाल नदीले कटान गरेको छ। कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेपछि पुलको जग तथा तल्लो क्षेत्रमा क्षति पुगेको प्रहरीले जनाएको छ। पुलबाट हाल यातायात निरन्तर सञ्चालन भइरहेको भए पनि जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बागलुङले अनुरोध गरेको छ।
यो पुल भएर दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन्। मालढुङ्गा पुल बागलुङका साथै गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, सल्यानलगायत पश्चिम नेपालका विभिन्न जिल्ला जोड्ने मुख्य नाका हो।
नदीमा पानीको सतह उच्च भएपछि पुलका साथै मालढुङ्गा क्षेत्रका तटीय बस्तीहरूसमेत जोखिममा परेका छन्। बस्ती आसपासका स्थानीयवासीलाई पनि सतर्क रहन प्रहरीले आग्रह गरेको छ।


अनलाइन डबली

