सल्यान, साउन २३ गते । जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी गाउँपालिका–२ बराहढुँगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साथीहरूसँग सिकार खेल्न गएको समयमा बन्दुकबाट अचानक गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक रोकायले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सिकार खेल्न गएका कालिमाटी गाउँपालिका–३ बल्लेका मानबहादुर विक, जुद्रबहादुर रेउले, खुमेन्द्रबहादुर रेउले, सेईतराम थापा र कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहढुँगाका पदमबहादुर श्रीसमगर गरी छ जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


अनलाइन डबली

