रौतहट — रौतहटको यमुनामाई गाउँपालिका- ५ मा ६ वर्षीय बालकको नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ घरबाट खेल्न गएका बेला बालकको डुबेर मृत्यु भएको हो ।
स्थानीय सरमुला मियाँका छोरा खुसी आलम कल्भर्ट नजिकको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । गाउँकै ४/५ जना साथीहरुसँग साँझ घरबाट १ किमि पश्चिम पर्ने सडक छेउको कल्भर्टमा खेल्न गएका थिए । उनीसँगै गएका साथीहरु घर फर्किए पनि खुसी हराएका थिए ।
खुसी राति अबेरसम्म घरमा नआएपछि आफन्त र छिमेकीहरु खोजतलासमा जुटेका थिए । त्यसपछि खुसीका बुवा सरमुला मियाँले बमनहरस्थित प्रहरी पोष्टमा जानकारी गराएका थिए । प्रहरीले खोजी गर्ने क्रममा यमुनामाई-५ स्थित सातबम्बा सडकको कल्भर्टबाट २० फिट दक्षिण बगेको नहरको पानीमा घोप्टो अवस्थामा शुक्रबार बालक मृत फेला परेको जिल्ला प्रहरीका डीएसपी वसन्त गौतमले जानकारी दिए ।
शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।”


अनलाइन डबली



