आज :

मुस्लिम महिलाको सशक्तीकरण विशेष प्राथमिकता, धर्मका नाममा द्वन्द्व स्वीकार्य छैन : कार्यबाहक अध्यक्ष अली

  • अनलाइन डबली

काठमाडौं । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदाय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै क्षेत्रमा पछाडि परेको तथ्याङ्कले देखाएको भन्दै त्यसमा पनि मुस्लिम महिलाको अवस्था अझै पछाडि रहनु दुःखद भएको बताएका छन्।

उनले मुस्लिम महिलाको सशक्तीकरणलाई आयोगले विशेष प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्ने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन्।

उनले भने, ‘मुस्लिम र इस्लामको बारेमा भन्दा इस्लाम एउटा धर्म हो र त्यो धर्मलाई अवलम्बन गर्ने समुदाय मुस्लिम हो, यसमा अब सबैजना स्पष्ट हुनुभएको छ । खासगरी नेपालको जनसङ्ख्याको हिसाबले समग्रमा पछि छौँ । अझ त्यसमा पनि मुस्लिम समुदाय सरकारी तथ्याङ्क अनुसार चाहे त्यो आर्थिक क्षेत्रमा होस्, चाहे सामाजिक, सांस्कृतिक, राजनीतिक हरेक क्षेत्रमा पछि परेका छौं । त्यो तथ्याङ्कहरुले स्पष्ट पारेको छ । दुर्भाग्य, त्यसमध्ये मुस्लिम समुदायका महिलाहरु अझ पछाडि छन् ।’

मुस्लिम महिलालाई अगाडि बढाउन आयोगले विशेष ध्यान दिएको उल्लेख गर्दै उनले आयोगका अधिकांश कार्यक्रम महिला सहभागितालाई केन्द्रमा राखेर सञ्चालन गरिएको बताए।

उनले भने, ‘पछाडि परेका मुस्लिम महिलाहरुलाई अगाडि बढाउन आयोगले विशेष रुपबाट ध्यान दिएका छौँ । १२ वटा कार्यक्रममध्ये १० वटा कार्यक्रम महिला र पुरुषबाट समानरुपमा सहभागिता हुने किसिमले भइरहेका छन् भने मुस्लिम महिलाका लागि मात्र भनेर हामीले दुई वटा अलग–अलग कार्यक्रम पनि गरेका थियौँ । त्यस कार्यक्रमले राम्रो प्रभाव पारेको देखिन्छ ।’

चालु आर्थिक वर्षमा पनि मुस्लिम महिलाको नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

कार्यबाहक अध्यक्ष अलीले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न राज्यसँग आग्रह गरे।

धर्मका नाममा कुनै पनि प्रकारको विवाद र हिंसा स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले भने, ‘हामी नेपाली हौँ, छिमेकी हौँ, दाजुभाइ हौँ । हामीबीचमा यो धर्मको आडमा झै–झगडा गरिनुहुन्न । यो बेठिक हो भन्ने कुरालाई मुस्लिम आयोगले पहल गरिराखेको छ ।’

कुनै पनि धर्मले हिंसा र वैमनस्य सिकाउँदैन भन्दै केही व्यक्तिको गलत गतिविधिका कारण सम्पूर्ण समुदायलाई दोष दिन नहुने उनले बताए।

बैठकमा समितिका सदस्यहरूले आयोगका कार्यक्रम, मुस्लिम समुदायको सामाजिक तथा आर्थिक अवस्था, महिला सशक्तीकरण र पछिल्ला साम्प्रदायिक घटनाका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal