काठमाडौँ । सुनसरीको झडप प्रहरीको नियन्त्रण बाहिर गएको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि थप तनाव उत्पन्न भएको हो ।
घटनाको विरोधमा स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । तर, पीडित पक्षले कर्फ्यू तोड्दै अगाडि बढेपछि सेना परिचालन गरिएको बताइएको छ ।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप भएको थियो । उक्त झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । उक्त गोलीबाट ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीको गोली लागेर अन्य ९ जना गम्भीर घाइते भएका छन् । उनिहरूको विराटनगरस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
प्रहरीले गोली चलाएपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीय प्रशासनले सोमबार विहानैबाट कर्फ्यू जारी गरेको थियो । तर, कफ्र्यूको बेवास्ता गर्दै स्थानीयले सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् भने इनरुवा बजार क्षेत्र बन्द गराउनुका साथै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
सेना सडकमा निस्किएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।


अनलाइन डबली


