काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बुधबार एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । उनिहरुले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजनीनामा दिएका हुन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गरेको पत्र पठाएर वर्तमान राजनीतिक परिस्थितिका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् ।
बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।
मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन् । अब संविधानअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रदेश सरकार फेरबदलसँगै नेकपा र एमालेबीच सत्ता सहकार्यको गृहकार्य भइरहेको छ । नेकपाका संयोजक प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि सहकार्यको अन्तिम तयारी भइरहेको छ ।


अनलाइन डबली


