आज :

​तनाव व्यवस्थापन र स्वस्थ जीवनयापनका लागि सामाजिकरूपमा योग शिक्षाको अपरिहार्यता

  • शङ्कर कुमार थापा

​आधुनिक विज्ञान र प्रविधिको चामत्कारिक विकासले आजको मानव जीवनलाई सहज, सुविधायुक्त र सुगम त बनाएको छ, तर विडम्बना ! यसैको समान्तर रूपमा मानिस भित्र मानसिक अशान्ति र शारीरिक अस्वस्थताको ग्राफ पनि उत्तिकै तीव्र गतिमा बढिरहेको छ। बाहिर भौतिक सम्पन्नताको चमक छ, तर भित्र मानवीय संवेदनाको खडेरी पर्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थकर खान पान र २४ सै घण्टा दौडिरहने महत्त्वाकाङ्क्षाका कारण आज समाजका बहुसंख्यक मानिसहरू नसर्ने रोगहरूको चक्रव्यूहमा आक्रान्त छन्।

​प्रविधिले संसार लाई नजिक त ल्यायो, तर मानिस लाई आफ्नै मन र शरीर भन्दा टाढा धकेलि दियो। भौतिक रूपमा सुविधायुक्त देखिने आजको समाज गुणात्मक रूपमा झन्–झन् अशान्त बन्दै गइरहेको छ। यस्तो विषम् परिस्थितिमा शारीरिक रूपमा निरोगी, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतना युक्त सन्तुलन कायम राख्न ‘योग शिक्षा’ आजको समाजमा विलासिता होइन, एक अपरिहार्य र अनिवार्य आवश्यकता बनेको छ।

​संस्कृत भाषाको ‘युज’ धातु बाट बनेको ‘योग’ शब्दको शाब्दिक अर्थ नै जोडिनु वा एकाकार हुनु हो। योग संकुचित घेरा भित्र बाँधिएको विषय होइन; यसले शरीरलाई स्वास्थ्यसँग, मन‌लाई चेतनासँग, कर्मलाई व्यवहारसँग र आत्मा लाई परमात्मासँग जोड्दछ। व्यक्तिगत रूपान्तरण हुँदै यसले व्यक्तिलाई परिवार ग, परिवार लाई देश अनि सिंगो विश्व परिवेशसँग आत्मीयताको डोरोमा बाँध्न अभिप्रेरित गर्दछ। शारीरिक आरोग्यताका लागि आसन, श्वासप्रश्वासको नियन्त्रणका लागि प्राणायाम र मानसिक एकाग्रताका लागि ध्यानको माध्यम बाट शरीर, मन र आत्मा लाई समतामा राखी आत्म साक्षात्कार गर्ने एउटा पवित्र विधिको नाम नै योग हो।

​हाम्रो आम समाजमा अझै पनि योगलाई केवल केही शारीरिक कसरत वा व्यायामका रूपमा मात्र बुझ्ने भ्रम कायम छ। वास्तवमा योग केवल कसरत मात्र होइन, यो त जीवन जिउने एउटा वैज्ञानिक कला र पूर्ण विज्ञान हो।
​यस वैज्ञानिक तथ्य लाई मूर्त रूप दिन महर्षि पतञ्जलिले प्रतिपादन गरेको ‘अष्टाङ्ग योग’ (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) को व्यावहारिक अभ्यास अत्यन्त जरुरी भइसकेको छ। यसले मानिस लाई केवल रोग मुक्त मात्र बनाउँदैन, बरु अनुशासित, संयमित र सचेत बनाउँदै परम शान्ति (मोक्ष) को मार्गमा उन्मुख गराउँछ।

​आजको चिकित्सा विज्ञानले पनि पुष्टि गरिसकेको छ कि उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, मुटुरोग, श्वासप्रश्वासको समस्या, मानसिक विक्षिप्तता, मेरुदण्ड दुख्ने र थाइराइड जस्ता दीर्घकालीन रोगहरूको मुख्य जड नै खराब जीवन शैली र मानसिक तनाव हो। जब मानिस शारीरिक रूपमा निष्क्रिय र मानसिक रूपमा तनावग्रस्त हुन्छ, तब मस्तिष्कमा ‘कार्टिसोल’ नामक घातक रसायन उत्पन्न हुन्छ, जसले बिस्तारै शरीरका अंगहरू लाई कमजोर बनाउँछ।

​तर, जब हामी नियमित रूपमा योगिङ–जगिङ, आसन, व्यायाम एवं प्राणायाम गर्छौँ, तब मस्तिष्कमा ‘सेरोटोनिन’, ‘डोपामाइन’ र ‘इन्डोर्फिन’ जस्ता सुखानुभूति गराउने सकारात्मक रसायनहरू उत्सर्जन हुन्छन्। यसले प्राकृतिक रूपमै तनावको व्यवस्थापन गर्छ, शरीरमा रक्तसञ्चार सन्तुलित बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, र मानिस लाई औषधि माथिको निर्भरता बाट मुक्त गराउँदै ‘त्रिदोष’ (वात, पित्त, कफ) र ‘त्रिगुण’ (सत्, रज, तम्) लाई सम अवस्थामा ल्याउन मद्दत गर्दछ।

​अहिलेको अर्को गम्भीर चुनौती भनेको सामाजिक सञ्जाल र डिजिटल प्लेट फर्महरूको अत्यधिक लत हो। यसले गर्दा विशेष गरी युवा पुस्ता भर्चुअल दुनियाँमा हराउँदै गइरहेको छ। परिणाम स्वरुप, बाहिर भीडमा देखिए पनि भित्र भित्रै एक्लोपन, डिप्रेसन र भविष्यप्रतिको अत्यधिक महत्त्वाकाङ्क्षाले उनीहरू मानसिक रूपमा कमजोर बनिरहेका छन्; आफ्ना मौलिक सामाजिक मूल्य–मान्यता र संस्कार बाट टाढिँदै गइरहेका छन्।

​युवा पुस्ता लाई यो मानसिक दलदल बाट बचाउने अचुक अस्त्र पनि योग नै हो। अष्टाङ्गयोग अन्तर्गत गरिने प्राणायाम र ध्यानको नियमित अभ्यासले मस्तिष्कका तरंगहरू लाई शान्त पार्छ, नकारात्मक विचारहरूको चक्रव्यूह लाई तोड्छ र एकाग्रता एवं आत्मबल लाई अद्भुत तरिकाले बढाउँछ। मानसिक रूपमा सबल, शान्त र नैतिकवान् नागरिक नै समृद्ध समाजको आधार शिला हुन्। त्यसैले त अहिले विद्यालय स्तर देखि नै पाठ्यक्रममा योग शिक्षा लागू गर्नुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थालेको छ।

​योगको यही वैश्विक महत्त्व लाई बुझेर विश्व स्वास्थ्य संगठन (WHO) ले पनि मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धनका लागि योग लाई एक अत्यन्तै प्रभावकारी माध्यमका रूपमा स्वीकार गरिसकेको छ। संयुक्त राष्ट्र संघले जुन २१ लाई ‘अन्तर्राष्ट्रिय योग दिवस’ घोषणा गरे पछि त योगको महिमा विश्व भरिको साझा सम्पत्ति बनेको छ। यस सन्दर्भमा हामी नेपाली झनै गौरव शाली हुनुपर्छ, किनकि नेपाल प्राचीन ऋषि मुनिहरूको पवित्र तपो भूमि र योग एवं ध्यानको वास्तविक उद्गम स्थल हो। हाम्रा पुर्खाहरूको यो अमूल्य र वैज्ञानिक विरासत लाई आधुनिक पाठ्यक्रममा समावेश गरी नयाँ पुस्तामा हस्तान्तरण (पुस्तान्तरण) गर्नु आजको राज्यको सबै भन्दा ठूलो दायित्व र अवसर दुवै हो।

​पछिल्लो समय केही शैक्षिक संस्थाहरूले योग लाई अतिरिक्त शिक्षाका रूपमा समावेश गर्न थालेका छन् भने विभिन्न सामाजिक सङ्घ संस्थाहरूले निःशुल्क योग शिविरहरू पनि सञ्चालन गरिरहेका छन्, जुन सकारात्मक सुरु आत हो। तर, यस लाई केवल कर्म काण्डी तवरले वर्षको एक दिन दिवस मनाउने वा केही दिनको अभियानमा मात्र सीमित गरियो भने यसको वास्तविक लाभ समाजले पाउन सक्दैन। योग त कुनै उत्सव मात्र होइन, यो त प्रत्येक व्यक्तिको दैनिक दिन चर्याको अभिन्न हिस्सा बन्नुपर्छ।

​​आधुनिक समाज लाई विकृति, विसङ्गति, दुर्व्यसन र रोगको भयानक प्रकोप बाट उन्मुक्ति दिलाई एक स्वस्थ, शान्त, मर्यादित र सभ्य समाज निर्माण गर्ने हो भने योग शिक्षालाई घर–घर र विद्यालय–विद्यालयमा संस्थागत गर्नुको अब अर्को कुनै विकल्प छैन। योग केवल निरोगी बन्ने भौतिक माध्यम मात्र होइन, यो त सकारात्मक सोच, करुणा, र मानवीय मूल्य–मान्यता सहितको उत्कृष्ट जीवन जिउने एउटा पवित्र मार्ग हो।

​त्यसैले, “स्वस्थ शरीर र शान्त मन” को महाअभियान लाई सार्थक बनाउन देशका तीन वटै तहका सरकार, योगको क्षेत्रमा क्रियाशील सामाजिक संघ संस्थाहरू र सम्पूर्ण नागरिक समाजको संयुक्त एवं एकीकृत पहल कदमी हुनु जरुरी छ। जब योग प्रत्येक नागरिकको जीवन पद्धति बन्नेछ, तब मात्र राष्ट्रको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय आकाङ्क्षाले वास्तविक न्याय र सार्थकता पाउनेछ। आजै बाट, आफ्नै घरबाट र आफैँ बाट योग लाई जीवनको हिस्सा बनाऔँ।

लेखकः शङ्कर कुमार थापा, पतञ्जलि योग सेन्टर दैलेखका मुख्य प्रशिक्षक हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal