आज :

जेनजी र कलाकार तिङ्कर भञ्ज्याङस्थित नेपाली सिमा स्तम्भमा राष्ट्रिय झण्डा फहराउँदै

  • अनलाइन डबली

दार्चुला । नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय जेन्जी नागरिक अभियानका अभियान्ताहरूले दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत तिङ्कर भञ्ज्याङस्थित नेपालको सिमाना नम्बर–१ पिल्लरमा राष्ट्रिय झण्डा फहराएका छन्।

‘राष्ट्रिय जेन्जी नागरिक अभियानको कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रा’ अन्तर्गत आयोजित कार्यक्रममा अभियानका अभियान्ता सुनिल सिंह, प्रकाश बम, अजय सोडारी तथा ‘सीमानामा काँडेतार’ अभियानका अभियान्ता एवं देशभक्त नायक नवल खड्काले संयुक्त रूपमा राष्ट्रिय झण्डा फहराउँदै सीमा संरक्षण, राष्ट्रिय एकता र नागरिक उत्तरदायित्वप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका हुन्।

अभियानका अनुसार यात्राको उद्देश्य नेपालको सीमावर्ती भूभागको वास्तविक अवस्था प्रत्यक्ष अध्ययन गर्नु, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या पहिचान गर्नु, राष्ट्रिय सुरक्षासँग सम्बन्धित चुनौतीहरूको अवलोकन गर्नु तथा तिनको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु हो।

यात्राका क्रममा टोलीले सीमावर्ती बस्तीका स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया गरी शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, रोजगारी तथा अन्य आधारभूत सेवासम्बन्धी समस्या र आवश्यकताबारे जानकारी संकलन गरिरहेको जनाएको छ। संकलित तथ्य, सुझाव र निष्कर्षका आधारमा सम्बन्धित निकायसमक्ष नीतिगत सुधार तथा प्रभावकारी कार्यान्वयनका लागि प्रतिवेदन बुझाइने अभियानले जनाएको छ।

अभियानमा सहभागीहरूले नेपालको प्रत्येक इन्च भूमि सम्पूर्ण नेपालीको साझा गौरव र राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रको विकास, सुरक्षा र त्यहाँका नागरिकको जीवनस्तर उकास्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार सीमा केवल नक्सामा कोरिएको रेखा मात्र नभई नेपालीको इतिहास, पहिचान, स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय अस्तित्वको आधार हो।

अभियानले सिमाना नम्बर–१ पिल्लरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रमले सीमाक्षेत्रमा राष्ट्रिय एकता, देशप्रेम र नागरिक उत्तरदायित्वको भावना थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। साथै, नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि सम्पूर्ण नेपालीलाई आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal