काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले कालिकोटबाट उम्मेदवार बनेका महेन्द्रबहादुर शाहीको नाम जोडेर सामाजिक संजालमा दलित समुदायमाथि अपमान हुने गरी गरिएको प्रचारप्रति आपत्ति जनाएको छ । जिल्ला पार्टीले विज्ञप्ति जारी गरेर शाहीको नाममा फेक आइडी बनाएर दलित समुदायको अपमान र सामाजिक सद्भाव भड्काउने गरी गरिएको प्रचारको खण्डन गरेको छ ।
डम्बरहादुर शाही र चित्रसिंह गाउँलेले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा पार्टीलाई बदनाम गर्न र निर्वाचनको पूर्वसन्ध्यामा पानी धमिलाएर माछा पार्ने बदनियतका साथ सुनियोजित र योजनावद्धरुपमा गलत प्रचार गरिएको उल्लेख छ ।
‘सामाजिक सञ्जाल फेसबुकमा केही फेक आइडी बनाएर दलित समुदायमाथि अपमान गर्ने गरी पोष्ट गरिएका स्टाटस र कमेन्टसँग नेपाली कम्युनिस्ट पार्टी र प्रतिनिधिसभा निर्वाचनमा कालिकोट जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवार क. महेन्द्रबहादुर शाहीको नाम जोडी प्रचारप्रचार गरिएको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
दलितको हक र अधिकारको लागि ज्यान हत्केलामा राखेर लेडेको पार्टी र नेतृत्वले दलित समुदायमाथि त्यसप्रकारको सोच राख्ने कुरा कल्पना गर्न नसकिने नेकपाले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दलितको हक र अधिकारको लागि आफ्नो ज्यानह त्केलामा राखेर लडेको पार्टी र नेतृत्गले दलित समुदायमाथि त्यसप्रकारको सोँच राख्ने कुरा कल्पना पनि गर्न सकिँदैन । दलित समुदायमाथि अपमानजनक र पूर्वाग्रही सोँच राख्ने व्यक्ति नेकपाको सदस्य समेत हुन सक्दन ।’
नेकपाले फेक आइडी बनाएर दलित समुदायलाई अपमान गर्ने, उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्काउन कोशिष गर्ने व्यक्तिको पहिचान गरी कानून बमोजिम कडा कारवाही माग पनि गरेको छ । त्यस्ता अराजक, अपराधिक र अश्लिल क्रियाकलाप र अपराधलाई राजनीतिकरण र राजनीतिकलाई जातिकरण नगर्न नेकपाले आग्रह समेत गरेको छ ।
विज्ञप्ति:



अनलाइन डबली



