
काठमाडौं । राष्ट्रिय साना सहकारी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीहरू र सिमरा खानेपानीसहित पाँचवटा खानेपानी संस्थाबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबीच खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषय र संस्थागत समस्याबारे गहन छलफल सम्पन्न भएको छ ।
सिमरा खानेपानी संस्थाको कार्यालयमा आयोजित छलफलमा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरूबारे विस्तृत विचार–विमर्श गरिएको थियो । छलफलका क्रममा स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षताको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयहरू उठान गरिएको थियो ।
त्यसैगरी, साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई कसरी सुदृढ बनाउने, क्षमता विकास, सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उपायहरूबारे समेत धारणा आदान–प्रदान गरिएको थियो । महासंघका पदाधिकारीहरूले संघीय संरचनाभित्र खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा संस्थाहरूको आवाज मजबुत बनाउने तथा प्रदेश र स्थानीय तहसँग सहकार्य विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
छलफलका क्रममा सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास र विद्यमान समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल अपरिहार्य रहेको स्पष्ट पारेको थियो । छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्याहरू पहिचान गर्न, आपसी सहकार्य र समन्वयलाई सुदृढ बनाउन तथा संस्थागत सुधारका लागि मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान पुगेको निष्कर्ष निकालिएको छ ।


अनलाइन डबली


