काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै आयोगको निर्णयविरुद्ध सर्वोच्च आने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको बैठकले ठहर गरेको जानकारी दिए । उनले आयोगको निर्णयलाई दुराशयपूर्ण र दूषित मनसायबाट प्रेरित रहेको टिप्पणी गरे।
महतले देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिएको बताए । उनले आयोगको निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको दाबी समेत गरे ।
‘हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ’ महतले भने । उनले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए ।
प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको भन्दै सानेपास्थित केन्द्रीय कार्यालय नछोड्ने बताए । उनले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने बताए ।


अनलाइन डबली


