काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् ।
निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन् ।
उनले विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित रहेको उल्लेख गर्दै उनले केही व्यक्ति मात्र अलग्गिएको टिप्पणी गरे ।
उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ । तर विशेष अधिवेशन कार्यसूची, कार्यतालिका, कार्यविधि सबै केन्द्रीय कार्य समितिले बनाउनुपर्छ भन्ने कुरा प्रष्ट रुपले विधानले भनेको छ । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्य समिति निर्वाचन आयोगमै हुनुहुन्छ । केही चोइटिएर जानुभएको होला । विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नै छैन । कसैले कुनै पदाधिकारी या कसैले पनि विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन ।’
डा. कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार कुनैपनि पदाधिकारी वा व्यक्तिलाई एकल रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नदिइएको स्पष्ट पारे । विशेष महाधिवेशनका लागि संकलन गरिएका हस्ताक्षरमध्ये धेरै फिर्ता भइसकेको दाबी गर्दै नेता कोइरालाले ती हस्ताक्षर फिर्ता भएको निस्सा प्रमाणका रूपमा आफूहरूले ल्याएको समेत बताए ।
उनले भने, ‘व्यक्ति होइन हामीले संस्था खोजेको हो । त्यो संस्थालाई हेरेर अगाडि जानुपर्ने हुन्छ । सिग्नेचरहरु फिर्ता भएको निस्सा हामीसँग पनि छ ।’ यसैगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बाहेक विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय सभापतिलाई समेत नरहेको बताए ।
उनले भने, ‘केन्द्रीय कार्यसमिति बाहेक विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय सभापतिलाई पनि छैन, कार्यवाहाकलाई पनि छैन, कुनै पदाधिकारीलाई पनि छैन । व्यक्तिलाई पनि छैन ।’




अनलाइन डबली



