काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जेनजी उमेर समूहका युवाहरू युद्धस्तरमा संगिठत भइरहेका छन् ।
विद्यार्थी नेतृ स्मृति तिमिल्सिनाको पहलमा जेनजी पुस्ताका युवाहरु संगठित हुन थालेका हुन् । अहिले तिमिल्सिनाले संयोजकको रुपमा ‘जेनजी रेड फोर्स’ नाम दिएर युवाहरु संगठित भइरहेका छन् ।
भ्रष्टाचार र कुशासनविरुद्धको जेनजीको शान्तिपूर्ण आन्दोलनमा सक्रिय सहभागिता जनाएकी स्मृतिले पार्टीभित्रका खराबीलाई हटाएर रुपान्तरण गर्न अभियान चालिएको बताएकी छन् ।
संयोजक तिमिल्सिनाका अनुसार अहिलेसम्म करिब ५५ जिल्लामा रेड फोर्सको बिस्तार भइसकेको छ । यी जिल्लामा संयोजक तोकेर कमिटी बनाउने निर्माणको काम थालिएको छ । त्यस्तै, जिल्लासँगै प्रदेशमा पनि बिस्तार गरिएको छ । अहिलेसम्म तीनवटा प्रदेशमा संगठबन बनिसकेको र बाँकी प्रदेशमा छिटै संगठन बिस्तार गर्ने तयारी भइरहेको छ ।
त्यसैगरी प्रवासमा पनि रेड फोर्स बिस्तार भइरहेको संयोजक तिमिल्सिनाले जानकारी दिइन् । उनका अनुसार भारत, कोरिया, अमेरिका, रोमानिया, मलेसियागायतका देशमा कमिटी बनिसकेका छन् । बाँकी देशमा देशमा पनि छिटै संगठन बिस्तार गर्नेबारे छलफल भइरहेको छ ।
तिमिल्सिनाले तिहारपछि काठमाडौँमा पत्रकार सम्मेलन गरेर सङ्गठनको औपचारिक घोषणा गर्ने जानकारी दिइन् । उनले त्यतिबेलासम्म ७७ वटै जिल्लामा संगठन बिस्तार गरिसक्ने गरी छलफल भइरहेको बताइन् । ‘म तिहारको भोलिपल्ट काठमाडौँ आउँछु, अरु साथीहरु पनि आउनुहुन्छ, हामी एजेण्डासहित औपचारिकरुपमा घोषणा गर्छौ’ तिमिल्सिनाले भनिन् ।
पार्टी रूपान्तरण गर्दै अहिलेकाे परिवर्तन जाेगाउने जिम्मा युवाहरूकै काँधमा आएको संयाेजक तिमिल्सिनाले बताइन् ।
‘जनयुद्ध, जनआन्दोलनमा युवाहरुको ठूलो बलिदानबाट अहिलेको परिवर्तन आएको हो । अब पार्टीलाई रुपान्तरण गर्ने जिम्मा हाम्रो काँधमा आएको बोध भएर हामीले यो अभियान थालेका हौं’ तिमिल्सिनाले भनिन् । गणतन्त्र र संविधानको रक्षाको लागि पनि युवाहरु एकजुट हुनुपर्ने बताइन् ।