
काठमाडौँ । अन्तरिम सरकार चर्चित गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणसम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रकरणसम्बन्धी फाइल खोल्नका लागि उजुरी दिन आह्वान गरेका छन्। उनले पीडितहरुलाई उजुरी दिन आह्वान गरेका हुन् ।
उनले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र लिखित रूपमा राज्य संयन्त्रमा उजुरी आए मात्र प्रक्रिया अगाडि बढ्ने बताउँदै देश अब आदेशले नभई कानुनले चलिरहेको दाबी समेत गरे ।
‘मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला । तर पीडितले बैना दिनुभएको छ, बैना सङ्कलन गरियो, त्यही बैना सायद घुसको रूपमा प्रयोग पनि भयो कि ? त्यही बैनाबापतको पैसा निर्णय गराउने कुरामा खर्च गरियो कि ? यो कुरा त जसले देखेको, भोगेको, पीडित भएको मान्छेले राज्य संयन्त्रमा ल्याइदिनुपर्छ’ गृहमन्त्री अर्यालले भने ।
भइरहेको कानुन कार्यान्वयन हुने र कसैले पनि त्यसमा हस्तक्षेप नगर्ने अर्यालले बताए । उनले राज्य संयन्त्रले कुनै पूर्वाग्रह नराखी कानुन, प्रमाण र उजुरी हेरेर काम गर्ने बताए ।