
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ पनि काउन्टरमा उत्रिएको छ ।
नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
नेविसंघले गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको छ ।
उजुरीमा शान्तिपूर्ण आन्दोलनमा भड्काएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पु¥याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा बालेन र गुरुङमाथि अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।
नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले हस्ताक्षर गरेको उजुरीमा २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग गरिएको छ ।
यसअघि सुदन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए ।