
काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरस्थित गुण्डुमा बसिरहेको छ । जेनजी आन्दोलनपछि पहिलो पटक बैठक बसेको हो । बैठकले केन्द्रीय समिति बैठक र आगामी पार्टीको कार्ययोजनाबारे छलफल चलिरहेको छ ।
बैठकमा भोलि पार्टीले काठमाडौँमा गर्न लागेको शक्ति प्रदर्शनलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल विषय मौखिकरुपमा ओलीले बैठकमा राखेका थिए । तर, छलफल चलिरहँदा सरकारले शनिबार काठमाडौँमा कुनै प्रकारको प्रदर्शन, सभा गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन काठमाडौँले एक सूचना जारी गरेर मोटरसाइकल र्याली तथा सभा र प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको हो। प्रशासनले अत्यन्त जरुरी सूचना भन्दै शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक-फरक स्थानमा मोटरसाइकल र्याली र सभा गर्ने जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रम गर्न स्वीकृति नदिने निर्णय गरिएको जानकारी दिएको छ ।
सूचनामा प्रशासनले गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण गराउँदै शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा प्रशासन केन्द्रित रहेको जनाएको छ।
‘विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ’ जारी सूचनामा उल्लेख छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम यस्तो निर्णय गरिएको उल्लेख छ ।
एमालेले सरकारकाे निर्णयबारे कुनै जवाफ दिएकाे छैन ।