
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले संविधानले वर्तमान आवश्यकतालाई सम्बोधन गर्न नसक्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने बताएका छन् । शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रचण्डले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।
‘संविधानले अहिलेकै रुपमा अब काम गर्दैन, संशोधन र परिवर्तन गरौं । त्यसको लागि राष्ट्रिय सहमति चाहिन्छ’ प्रचण्डले सम्पादकसँग भने । प्रचण्डले जेनजी आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको बताए ।
आफ्नो पार्टीले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको स्मरण गराउँदै प्रचण्डले अब संशोधन गरेर त्यतै जानुपर्ने बेला आएको बताए ।
त्यसैगरी संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन, राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो’ प्रचण्डले भने ।
उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।