
काठमाडौं । पार्टीको रुपान्तरण र पुनर्गठनका लागि भन्दै राष्ट्रिय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरीले राजीनामा गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै परम्परागत ढंगबाट पार्टी सञ्चालन हुन नसक्नेसमेत उल्लेख गरेका छन् ।
गिरीले विज्ञप्तिमा भनेका छन्“देशको वर्तमान र भविष्यलाई नेतृत्व गर्न आजका युवा र नेपाली नागरिकहरुको भावनालाई आत्मसाथ गर्दै सुशासनको लागि जिम्मेवार राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि पार्टीको रुपान्तरण र पुर्नगठन गर्न आवश्यक छ ।”
गिरीले वर्तमान विकसित राजनैतिक अवस्थालाई मध्यनजर गरी राजीनामा गरेको उल्लेख गर्दै भनेका छन्,“पार्टीले भ्रष्ट्राचार, वेथिति र कुशासनका विरुद्ध आवाज बुलन्द गर्दै निरन्तर संघर्ष गरिरहेको थियो, देशमा भएको अति वेथितिको कारण चुनाव जिताएर पठाएका दल र तीनको नेतृत्वबाट आजित जेन–जी पुस्ता र नागरिकहरुले भदौ २३ र २४ गते गरेको आन्दोलन तथा विद्रोहले नेपाली समाज, राजनीतिक नेतृत्व र दलहरुलाई जरै देखि हल्लाएको छ । निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको छ ।”
नैतिकता र इमान्दारीताको जगमा राष्ट्र र नागरिकको हित हुने विचार बोकेका विभिन्न समूह अभियान र राजनीतिक दलहरु एक हुनुपर्छ । सबैले ठूलो मन र छाति लिएर वार्ता, छलफल गर्दै पद र जिम्मेवारी मिलान गरी एकीकरण भएर अघि बढ्न सकेको खण्डमा मात्रै पार्टी स्थापित गर्न र नेपाललाई सबल समुन्नत बनाउने भूमिका निर्वाह गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
“त्यसैले अहिलेको आवश्यकतालई मध्यनजर गर्दै पार्टीको रुपान्तरण र पुर्नगठनको लागि नेतृत्वलाई सहज हुने गरी मैले मेरो मनोमानी खुशी राजीका साथ मिति २०८२।०६।०५ गते देखि लागु हुनेगरी महासचिव पदबाट राजीनामा दिएको छु । राजीनामा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु ।”