काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा “मार्का-ए-हक” विजयको उत्सवका साथ पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस दूतावास परिसरमा झण्डा फहराउदै हर्षउल्हासका साथ समारोह गर्दै मनाइएको छ ।
पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले पाकिस्तानी समुदायका सदस्य, पाकिस्तानप्रति सुभेक्षा राख्ने नेपाली प्रतिनिधि तथा दूतावासका अधिकारी र उनीहरूको परिवारको उपस्थितिमा बिहीबार राष्ट्रिय झण्डा फहराएका छन् ।
यस वर्षको उत्सवमा पाकिस्तानले हालै सैन्य र कूटनीतिक क्षेत्रमा हासिल गरेको “मार्का-ए-हक” विजयको भावना समेटिएको थियो।
पाकिस्तानका शीर्ष नेतृत्वबाट पठाइएका सन्देशहरूमा सन् १९४७ मा देश निर्माणका लागि गरिएको साहस, एकता र बलिदानको स्मरण गर्दै विगत ७८ वर्षमा सामना गरिएका चुनौतीहरू पार गर्ने दृढताको प्रशंसा गरिएको थियो।
राष्ट्रपति आसिफ अली जरदारीले कायदे आजम मुहम्मद अली जिन्ना र पाकिस्तान आन्दोलनका कार्यकर्ताहरूको योगदानलाई स्मरण गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न एकतामा जोड दिए।
प्रधानमन्त्री मुहम्मद शहबाज शरिफले विपरीत परिस्थितिमा पनि अर्थतन्त्र, खेलकुद, रक्षा र प्रविधिमा प्राप्त उपलब्धिहरूको सराहना गरे। उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक दारले “मार्का-ए-हक” मा पाकिस्तानको सिद्धान्तपरक भूमिकाको प्रशंसा गर्दै काश्मीरको पक्षमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा राजदूत हाश्मीले राष्ट्रका अग्रजहरूको सम्मान गर्दै देशको रक्षा गर्न पाकिस्तानी सेनाको भूमिकाको प्रशंसा गरे र शान्ति, प्रगति र एकताप्रति पाकिस्तानको प्रतिबद्धता दोहोर्याए।
कार्यक्रम स्वतन्त्रता र ‘आजादी’ को रक्षा गर्न प्राण आहुति दिने सहिदहरूको सम्झनामा विशेष प्रार्थनासहित समापन भएको थियो ।