आज :

कर्णालीको बजेटः मध्यराती प्रदेशसभामा पेश, राती नै पारित, दलाल र बिचाैलियाकाे बुलेटिन भएकाे आरोप  

  • अनलाइन डबली

सुर्खेत । २० दिन लामो रस्काकस्सी पछि अन्तत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकमा सभामुख नन्दा गुरुङले सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरिन् ।

असार १ गते मध्यराती मन्त्री शाहले कर्णाली प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार ६६ लाख ५५ हजारको बजेट पेश गरेका थिए । प्रतिपक्षी नेकपा माओवादी केन्द्रले बजेट विभेदकारी भएको भन्दै पटक पटक प्रदेश सभा अवरुद्ध गर्दै आएको थियो । बजेटको छलफलमा सत्ता साँझेदार नेपाली काँग्रेसका सांसदहरुले पनि विरोध जनाएका थिए ।

शुक्रबार दिनको एक बजे प्रदेश सभा बोलाइएको भए पनि प्रतिपक्षी माओवादी अवरोधका कारण साँझ अवेर मात्र बैठक सुरु भएको थियो । शुक्रबारको बैठकमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनामा विनियोजन गरी कार्यान्वयन गर्ने सहमती पछि बैठक सुचारु भएको थियो ।

शुक्रबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री शाहले जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित विशेष प्रस्ताव पेश गरेका थिए । उक्त बिशेष प्रस्तावमार्फत विपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका सांसद राजकुमार शर्माको गृह जिल्ला रुकुम पश्चिममा विभिन्न योजनामा विनियोजन भएपछि माअ‍ेवादी केन्द्र बजेट पारित गर्न सहमत भएको हो ।

उक्त बिशेष प्रस्तावमार्फत ११ करोड ५० लाखको थप योजना रुकुम पश्चिममा विभिन्न सडक निर्माण, सडक स्तरोन्नती, सिँचाई कुलो निर्माण र फलफूलका बिरुवा वितरणमा छुट्याइएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार ६६ लाख ५५ हजारको बजेट शुक्रबार कर्णाली प्रदेश सभाबाट पारित भएको छ ।

सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको भन्दा ५ प्रतिशतले बढी हो । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ ।

कर्णाली  सरकारले आगाामी आर्थिक बर्षका लागि चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार (२३.६४ प्रतिशत) र  पुँजीगततर्फ  १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व  समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री शाहले बताए ।

आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम १० अर्ब २७ करोड ३० लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ५६ करोड ४ लाख र सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख रुपैयाँ प्रदेशको बजेट छ ।

कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान ५३ करोड ९७ लाख र बिशेष अनुदानवाफत ४९ करोड ४६ लाख प्राप्त गर्ने अनुमान गरी बजेट बनाएको जनाइएको छ । त्यस्तै बैदेशिक सहायताबाट प्राप्त हुने कार्यक्रम एक करोड ८७ लाख स्रोत परिचालन गर्ने गरी सरकारले बजेट बनाएको मन्त्री शाहले बताए । कर्णाली प्रदेश सरकारले कर्णालीको पूर्वाधार बिकास, रोजगारी सिर्जना गरी कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको दावी गरेको छ ।

राप्रपा र समाजवादीको असन्तुष्टि

कर्णाली प्रदेश सभाबाट बजेट पारित भए पछि राप्रपा सांसद सन्तोषी शाही र नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले असन्तुष्टिी व्यक्त गरेकी छिन् । बजेट पारित लगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुबै जना सांसदले कर्णालीको बजेट कर्णालीको बिकासमा लासिग नभई दलाल र बिचौलीको लागि भएको बताएकी छन् । ‘ कर्णाली प्रदेश सरकारको बजेट भागबन्डामा अन्तत राति जोर जुलमले पास’ सांसद कल्याणी खड्काले फेसबुक वालमा लेखेकी छन्, ‘कर्णालीको विकासका लागि नभई दलाल र बिचौलियाको लागि बजेट । न त जनताको मागमा, न त प्रदेशकै महत्वपूर्ण  आवश्यक योजनामा । बिचौलिया कमिशनको  माग पुरा भयो ।’

‘प्रमुख प्रतिपक्षी दल माओवादी र प्रमुख सत्तारुढ दल कांग्रेसले सुरु सुरुमा त आँखा रातो पारेर विरोध गरे, रोष्टमबाटै किताब च्याते । तर अन्तिममा अबेरसम्म कराउने, भागबण्डा मिलाउने पुरानै राजनीतिक नौटंकी दोहोरियो । त्यसैले यो कर्णालीको विकासको बजेट होईन, दलालहरुको रजाइँ  हो समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको सपना एकादेशको कथा भयो’ खड्काले लेखेकी छन् ।

यस्तो छ राप्रपा सांसद सन्तोषी शाहीको प्रतिक्रिया

‘अन्ततः बजेट पास भयो– न त जनताको मागमा, न त प्रदेशकै जरुरी आवश्यकतामा तर बिचौलियाको टेबुल र कमिशनको क्याल्कुलेटर हेरेर यो वर्षको बजेट पारित भयो । प्रमुख प्रतिपक्षी दल माओवादी र प्रमुख सत्तारुढ दल कांग्रेसले सुरु सुरुमा त आँखा रातो पारेर विरोध गरे,रोष्टमबाटै किताब च्याते । तर अन्तिममा ‘अबेरसम्म कराउने,भागबन्डा मिलाउने’ पुरानै राजनीतिक नौटंकी दोहोरियो ।

त्यसैले म भन्छु–यो कर्णालीको बजेट होईन, दलालीको बुलेटिन हो । यस्तै प्रवृत्तिले साकार होला त समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको सपना ? ‘बन्छ कर्णाली हाम्रै पालामा हैन त !’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal