
काठमाडौँ । अमेरिकाले इरानका आणविक कार्यक्रम केन्द्रमा गएराति हमला गरेको छ । बी–२ बमबर्षक विमानको प्रयोग गरेर इरानका फोर्दो, नतान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रमा बम हमला गरेको अमेरिकाले बताएको छ ।
विश्व शान्तिको नारा लगाउँदै दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएको डोनाल्ड ट्रम्पले आफ्नो देशले परमाणु केन्द्रमा सफल हमला गरेको भन्दै राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनको क्रममा इरानलाई वार्तामा नआए पुनः हमला गर्ने चेतावनी समेत दिएका छन् ।
ट्रम्पले ती हमलाहरू निकै सफल भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको फूल पेलोड खसालिएको समेत बताए । राष्ट्रको नाममा सम्बोधन गर्नुअघि ट्रम्पले आफ्नो सोसल मिडिया ‘ट्रुथ सोसल’ मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र सुरक्षित अमेरिका फर्किएको बताएका थिए ।
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले भने– ‘इरानका प्रमुख आणविक प्रवद्र्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको छ । इरानले अब शान्ति कायम गर्नुपर्छ ।’ ट्रम्पले इरानले आफूले भनेको नगरे भविष्यका हमलाहरू निकै ठूला चेतावनी पनि दिए ।
‘याद रहोस्, धेरै निशानाहरू बाँकी छन् । आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो । तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ’ ट्रम्पले थप भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले इजरेलका लागि यस भयानक खतरा मेट्न एकसाथ काम गरेको समेत बताए ।
तर, इरानले ट्रम्पको दाबी सही नभएको बताएको छ । बीबीसीका अनुसार इरानी संसदका सभामुखका सल्लाहकार मेहदी मोहम्मदीले फोर्दो, इस्फहान र नटान्जमा अमेरिकी हमला भएको पुष्टि गरे । तर, ट्रम्पको दाबीअनुसार ठूलो क्षति नभएको दाबी गरे । मोहम्मदीले केही समयअघि ती स्थलहरू खाली गराइएको जनाएका छन् ।
इरानी अधिकारीको यो दाबी सत्य भए ट्रम्पले ठूलो सफलता भन्दै रमाएपनि हमला फेल भएको द्वन्द्व विश्लेषकहरुको भनाई रहेको छ ।
परमाणु ऊर्जा निकायले ती बम हमलाहरू अन्तर्राष्ट्रिय कानुन र खासगरी परमाणु अप्रसार सन्धिको बर्बर उल्लङ्घन भएको इरानले जनाएको छ ।
अमेरिकी हमलापछि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले संयुक्त राज्य अमेरिकाले इरानका शान्तिपूर्ण आणविक पूर्वाधारमा आक्रमण गरेर अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन गरेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा एक्समा एक पोस्ट गर्दै उनले अमेरिकाले गरेको आक्रमणलाई ‘संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानून र आणविक अप्रसार सन्धि’को स्पष्ट उल्लंघन भनेका हुन् ।
‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतमा अमेरिकाले आज गरेको कार्य अन्तर्राष्ट्रिय कानूनमाथिको आक्रमण हो,’ अराघ्चीले भनेका छन्, ‘आज बिहान भएका घटनाहरू निन्दनीय मात्र होइन, तिनको असर दीर्घकालीन हुनेछ ।’
अराघ्चीले इरानले आफ्नो सार्वभौमिकता, राष्ट्रिय हित र जनताको सुरक्षाका निम्ति सबै सम्भावित विकल्प सुरक्षित राखेको चेतावनी दिएका छन् । उनले राष्ट्रसंघ चार्टरको आत्मरक्षा सम्बन्धी प्रावधानअनुसार इरानले वैधानिक प्रतिक्रियाको अधिकार सुरक्षित राखेको प्रष्ट पारे ।
यसलाई इरानले अमेरिकामाथि हमला गर्ने चेतावनीको रुपमा हेरिएको छ ।
यसअघि इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले देशको आणविक कार्यक्रम कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पारेका थिए । उनले इरानले नागरिक प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने बताएका हुन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको टेलिफोन वार्तामा पेजेश्कियानले इरान आफ्नो आणविक कार्यक्रमबारे विश्वसनीयता कायम गर्न आवश्यक ग्यारेन्टी दिन तयार रहेको जनाएका छन् । तर धम्की वा युद्धको डर देखाएर इरानलाई पछाडि हट्न बाध्य पार्न नसकिने उनको भनाइ थियो ।