काठमाडाैँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ टिगनीबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल भक्तपुरको सरस्वतीखेल बस्ने ३८ वर्षीय साइँला तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०४ ८३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४७ प १० ५० राखि तामाङले चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल पेम्बा टासीले काठमाडौँको काठमाडौं महानगरपालिका ६ तीनचुलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।