
काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. विश्व पौडेल गभर्नर बन्ने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो ।
पौडेललाई गभर्नर बन्न नमिल्ने भन्दै परेको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेशलाई इजलासले पनि सदर गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो ।
अहिले सिफारिस समितिको बैठक बसिरहेको छ । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र पौडेललाई गभर्नर नियुक्त गर्ने सरकारले तयारी गरेको छ ।
उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।
नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका पाैडेल यसअघि चितवन–१ बाट प्रतिनिधिसभा सदस्यकाे चुनाव लडेर पराजित भएका थिए । उनि नेपाल राष्ट्र बैंककाे १८ औं गभर्नर हुनेछन् ।