
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँगको व्यापार युद्धबाट पछि हटेका छन् । राष्ट्रपतिको कार्यभार समालेलगत्तै चीनविरुद्ध व्यापार युद्ध छेडेका ट्रम्पले लामो समयसम्म टिक्न सकेनन् । ट्रम्पले पटकपटक गरी चिनियाँ सामानमा १४५ प्रतिशत करको घोषणा गरेका थिए ।
यसले अमेरिकी अर्थतन्त्रमा समेत असर परेको भन्दै चौतर्फी विरोध भएको थियो । अमेरिकाभित्रै प्रदर्शनसमेत भएका थिए । ट्रम्पको कर युद्धको जवाफ चीनले पनि फर्काएपछि अमेरिकी अर्थतन्त्र हलचल भयो ।
कर युद्धबाट ट्रम्प पछि हटेपछि स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो ।
यो सम्झौतालाई दुबै देशका अधिकारीहरुले महत्वपूर्ण उपलब्धी भनेका छन् । चीनका उप वाणिज्य मन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने बताए ।
अमेरिकी अधिकारीहरूले महत्त्वपूर्ण सहमतिमा बताउँदै नयाँ आर्थिक वार्ताको ढोका खोलेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीच भएको व्यापार वार्तामा दुवै देश ११५ प्रतिशत आयात कर घटाउन सहमत भएका छन् ।
नयाँ सहमतिमा चीनले अमेरिकाबाट आयत हुने सामानमा १० प्रतिशत र अमेरिकाले चीनबाट आयत हुने सामानमा ३० प्रतिशत आयात कर लगाउनेछ । यो सम्झौता ९० दिनका लागि मात्रै रहने बीबीसीले जनाएको छ ।
गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए, जसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्म कर लगाएको थियो ।