
काठमाडौँ । शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेपछि शिक्षकहरुले आन्दोलन थप चर्काउने बताएका छन् । आइतबार भएको झडपपछि नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताउँदै सबै शिक्षक कर्मचारीलाई काठमाडौँ आउन अपील गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।
‘नेपाली शिक्षक(कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक(कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले आइतबार शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुङ्गामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको बताएको छ ।
झडपको क्रममा बानेश्वरमा भएको ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका थि । झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको महासंघले जनाएको छ ।
शिक्षक कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासंघले बताएको छ । सबै शिक्षकहरुलाई आन्दोलनमा सहभागि हुन अपील समेत महासंघले गरेको छ ।