
कालिकोट – मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कालिकोटको ताडिमा रहेको तिला कर्णाली बहुमुखी क्याम्पसमा यही चैत १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ। यसै क्रममा अखिल ( क्रान्तिकारी) बाट अध्यक्ष पदका साझा उम्मेदवार हिक्मत सिंहले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
उनले शैक्षिक गुणस्तर सुधार, व्यावहारिक शिक्षा प्रणाली लागू गर्ने, छात्रवृत्तिमा पारदर्शिता ल्याउने, क्याम्पसमा छात्रछात्राका लागि स्वास्थ्य तथा सरसफाइ सम्बन्धी व्यवस्था सुधार गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन्।
साथै, क्याम्पसमा नवीकरणीय ऊर्जा प्रवर्द्धन, पाठ्यक्रम समायोजन, व्यावसायिक तालिम, विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको अवसर दिलाउने तथा विद्यार्थीहरूको आर्थिक समस्या समाधानका लागि राहत कोष स्थापना गर्ने उनको प्रमुख एजेन्डा रहेको छ। सिंहले विद्यार्थीको समस्या बुझेर समाधान गर्ने उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उल्लेख गरेका छन्।
उनको प्रचार अभियान तीव्र भइरहेको छ भने विद्यार्थीहरूमाझ उनको लोकप्रियता बढ्दो क्रममा रहेको छ।