
सुर्खेत। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत PLRIP (Provincial Level Road Infrastructure Project) कार्यक्रम मार्फत कालिकोटको महाबै गाउँपालिकामा नयाँ सडक निर्माण हुने भएको छ। नयाँ सडक निर्माणका लागि मन्त्रालय र पालिकाबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले जानकारी दिए।
यस परियोजनाअन्तर्गत सेराबाडा–पादमघाट–महाबै आधारभूत अस्पताल–ओदा हुँदै कोटखौला जोड्ने ७.९ किलोमिटर लामो सडक निर्माण गरिने छ। सडक निर्माणका लागि अब छिट्टै टेन्डर प्रक्रियामा जाने तयारी भइरहेको उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष सिंहका अनुसार यस सडक निर्माण परियोजनामा नेपाल सरकारको ऋण अनुदानमा विश्व बैंकले लगानी गर्ने निश्चित भइसकेको छ। साथै, यो सडक स्थानीय तहको केन्द्र जोड्ने महत्वपूर्ण मार्ग भएकाले प्राथमिकतामा राखिएको हो।
सडक निर्माणपछि स्थानीय बासिन्दाले यातायातको सुविधा पाउनेछन् भने महाबै आधारभूत अस्पतालसम्म सडक संजाल विस्तार हुने अध्यक्ष सिंहले बताए । उनले सडक निर्माणले शिक्षा, स्वास्थ्य, व्यापार तथा कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
यसैबीच, महाबै गाउँपालिकाले आफ्नो केन्द्र भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया पनि पूरा गरिसकेको छ।